१९ मंसिर २०८२, शुक्रबार

दशैंमा सडक दुर्घटना : चाडको उल्लासमा पीडाको छाया



दशैं नेपालीहरूका लागि सबैभन्दा ठूलो चाड हो, जसले पारिवारिक भेटघाट, मेलमिलाप, र आपसी सद्भावको भावना बोकेको हुन्छ। यस अवसरमा देश तथा विदेशमा रहेकाहरू आफ्ना परिवारसँग चाड मनाउन जन्मभूमितर्फ फर्किन्छन्। तर, यही चाडको बेला हरेक वर्ष सडक दुर्घटनाका कारण धेरैको ज्यान जाने दुःखद अवस्था दोहोरिरहन्छ। खुशीको चाडले धेरै परिवारमा शोक र पीडा ल्याउने गरेको छ, जुन चिन्ताको विषय हो।

दशैंको समयमा सार्वजनिक यातायातमा अत्यधिक भीड हुने, चालकहरू थकित हुने, सवारी साधनको अवस्था कमजोर हुने, अनि सडकको अवस्था पनि बिग्रिएको हुनाले दुर्घटनाको जोखिम बढ्दछ। कतिपय अवस्थामा यात्रुहरूको चाप थेग्न नसकेर ओभरलोड गरिएको गाडी दुर्घटनाग्रस्त हुने गरेको छ। यस्ता दुर्घटनाले हामीलाई सावधानी अपनाउनु कत्तिको आवश्यक छ भन्ने सन्देश दिन्छ। नागरिकस्तर र सरकारीस्तरमा समस्याको समाधानका काम हुन जरुरी छ । नागरिकहरूले सकेसम्म भीडभाडमा यात्रा नगर्ने, सुरक्षित साधनको प्रयोग गर्ने, र सवारी चालकको अवस्था हेरेर यात्रा गर्ने बानी बसाल्नुपर्छ।

चाडपर्वको हतारोमा लापरवाही नगर्नु अत्यन्त आवश्यक छ। अर्कोतर्फ, सरकार तथा सम्बन्धित निकायहरूले गाडीको प्राविधिक जाँच, चालकको स्वास्थ्य परीक्षण, ओभरलोड नियन्त्रण, तथा खतरनाक सडक खण्डमा ट्राफिक व्यवस्थापन गर्नुपर्छ। सडक, पुल र सवारी व्यवस्थापनमा अग्रिम तयारी हुनुपर्छ। आकस्मिक उद्धार र प्राथमिक उपचारका लागि पनि पूर्व योजना आवश्यक छ। यस्तो गर्दा मात्र हामीले दशैंको वास्तविक अर्थ– मिलन, खुशी र सामूहिक सुरक्षा –लाई जोगाउन सक्छौं। यसैले, सावधानी अपनाऔं, नियम पालना गरौं, र चाडपर्वलाई दुर्घटनारहित बनाऔं। सुरक्षित यात्रा नै सुखद चाडको पहिलो सर्त हो।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार