व्यक्तिगत रुपमा युरोप आएका नेपालीहरु समस्यामा – महानिर्देशक खत्री
(युरोप)/ संस्थागतबाट नभई व्यक्तिगत रुपमा युरोपमा आएका नेपालीहरु समस्यामा परेको वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले बताएका छन् । माल्टाको ऐरपोर्ट लुवामा अनुमोदनकर्मी पत्रकार धनराज विक (अविरल) संग कुरागर्दै महानिर्देशक खत्रीले यस्तो बताएका हुन् ।
सोमबार माल्टाबाट नेपाल फिर्ता हुने बेलामा भएको कुराकानीमा महानिर्देशक खत्रीले संस्थागत रुपमा युरोप आएका नेपालीहरु समस्यामा नपरेको र उनीहरुले राम्रो काम गरेर कमाइ गरी रहेको मैले पाए । तर व्यक्तिगत रुपमा नातेदार आफन्त र साथीभाइको सम्पर्कबाट युरोप आएका नेपालीहरु समस्यामा परेको खत्रीले बताए।
विभिन्न कारणले केही नेपाली समस्यामा रहे पनि धेरै नेपालीहरु खुसीसाथ बसेको देख्दा मलाई पनि खुसी लाग्यो । युरोपमा रहेका नेपालीहरुको हकहीत र उनीहरुले भोग्दै आएका समस्या समाधान गर्न सरकार सधैं जिम्मेवार रहेको खत्रीले बताए । भाषा सीप भएका नेपालीका लागि युरोपमा अवसर पनि छ । यही अवसरले नेपालीलाई आकर्षित गरेको युरोपमा रहेका नेपालीहरुले आफूलाई सुनाएको खत्रीले बताए ।
म लगायत मेरो टिमलाई स्वागत र सम्मान गर्ने एनआरएनए माल्टालाई धन्यवाद दिदै एनआरएनए माल्टाले प्रवासी नेपालीको हितमा निरन्तर कामगर्दै आएको सुन्दा आफूलाई राम्रो लागेको खत्रीले बताए । माल्टा भ्रमणमा आएका खत्री सहित श्रम मन्त्रालयका उपसचिव कविराज उप्रेती र श्रम मन्त्रालयकी अधिकृत आयुषी भट्टराईलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) र उपाध्यक्ष सत्यनारायण झा लगायतको एनआरएनएको टोलीले आफ्नै कार्यालयमा स्वागत र सम्मान गरेका थिए ।
वैदेशिक रोजगार विभागका महानिर्देशक खत्रीसंग माल्टामा रहेका नेपालीहरुले भोग्नु परेका समस्या, श्रम स्वीकृति र वैदेशिक रोजगार लगायतका विषयमा छलफल भएको एनआरएनए माल्टाका उपाध्यक्ष सत्य नारायण झाले बताए । उनले भने –“ स्पेनमा दुई पक्षीय (स्पेन र नेपालबीच) श्रम सम्झौता भएको उहाँले खुसीको खबर पनि सुनाउनु भएको थियो ।” माल्टा लगायत युरोपमा रहेका सबै नेपालीको समस्या समाधानमा नेपाल सरकार आफ्नो दायित्व पूरा गर्न प्रतिवद्ध रहेको खत्रीलाई उदृत गर्दै झाले बताए ।
नोभेम्बर १३ र १४ तारिख स्पेनमा सम्पन्न भएको अन्तराष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन श्रममन्त्री शरदसिंह भण्डारीसंगै महानिर्देशक खत्री, श्रम मन्त्रालयका उप–सचिव कविराज उपे्रती र श्रम मन्त्रालयकी अधिकृत आयुषी भट्टराईको एक टोली युरोप आएको थियो । मन्त्री भण्डारी सहितको टोली माल्टा भ्रमणमा आउने कार्यक्रम भए पनि भण्डारी काम विशेषले स्पेनबाटै नेपाल फर्किएपछि महानिर्देशक सूर्यबहादुर खत्री सहितको टोली माल्टा भ्रमणमा आएको थियो ।