१७ पुष २०८१, बुधबार

लामिछानेले सहकारीबाट झण्डै एक करोड ऋण लिएको भेटियो




काठमाडौ/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले प्रत्यक्षरुपमा सहकारीबाट ऋण नलिएको दावी गर्दे आएका थिए भने संसदीय समितिले पनि त्यस्तो प्रमाण भेटेको थिएन । तर मंगलबार काठमाडौस्थित एक सहकारीबाट दुई पटक गरेर झण्डै एक करोड ऋण लिएको भेटिएको छ ।

लामिछानेले गृहमन्त्रीको हैसियतमा ती प्रमाण लुकाउन लगाएको चर्चा चलिरहदा २७ हजार बचतकर्ता रहेको स्वर्णलक्ष्मी सहकारीबाट दुईपटक ऋण लिएको भेटिएको छ ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार जीबी र रविले संयुक्त नाममा ऋण लिएका हुन् । २०७८ भदौ ४ मा उनीहरुले ‘फोर ह्विलर लोन’ र २०७८ कार्तिक १ मा ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न भनेर ऋण निकासा गराएको भेटिएको हो । ‘फोर ह्विलर लोन’ बापत ४६ लाख ९८ हजार लिएको तर, ३२ लाख २१ हजार फिर्ता नगरेको स्वर्णलक्ष्मीको रेकर्डमा भेटिएको छ ।

त्यस्तै, ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न ४६ लाख ८८ हजार लिएर २९ लाख ५२ हजार नतिरेको अनुसन्धानबाट भेटिएको छ । स्वर्णलक्ष्मीबाट गैह्रकानुनी रुपमा रवि र जीबीसहितको नाममा प्रवाह भएको लोनको ३५ थान भौचर प्रहरीले बरामद गरेको छ ।
स्वर्णलक्ष्मीबाट एक अर्ब ११ करोड रुपियाँ निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । २७ हजार निक्षेपकर्ताले सो सहकारीमा दुई अर्ब ६५ करोड ९५ लाख रुपियाँ जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ ।

स्वर्णलक्ष्मीका कोषाध्यक्ष कुमार रम्तेल पोखरास्थित जिल्ला कारागार कास्कीमा थुनामा छन् । उनलाई झिकाएर बयान गर्ने तयारी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरी स्रोतका अनुसार जीबी राई, कुमार रम्तेल, व्यवस्थापक नवीन अछामी र दीपक लामासहित २४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जीबीभन्दा अगाडि उनका साढु भाइ दीपक स्वर्णलक्ष्मीको अध्यक्ष थिए ।

लामिछाने अहिले सहकारीको रकम अपचलन लगायतका मुद्धामा जिल्ला प्रहरी कार्यालय पोखरामा अनुसन्धानका लागि थुनामा छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार