१२ आश्विन २०८१, शनिबार

आफै जिम्मेवारीबाट बाहिरिएका रावल बारे धेरै टिप्पणी गर्न आवश्यक छैन : महासचिव पोख्रेल



धनगढी/ नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पूर्व उपाध्यक्ष भीमबहादुर रावल जिम्मेवारीबाट आफै बाहिरिएको बताएका छन् ।

धनगढीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले समसामयिक विषयमा आफ्ना धारणा राखेका थिए । धारणा राख्ने क्रममा उनले रावलका बारे केही बोलेनन् । तर पत्रकार सम्मलेनको अन्तिमतिर पत्रकार जगत साउँदले सोधेको प्रश्नमा उनले रावल पार्टी नीति नियमभन्दा बाहिर स्वतन्त्र जस्तो भएर हिडेकोले उहाँका विषयमा टिप्पणी गर्नु आवश्यक छैन भन्ने जवाफ दिएका थिए ।

रावल कुन जिम्मेवारीबाट आफै बाहिरिए त्यो भने उनले खुलाएनन् । जबकी रावलले भने आफूलाई सल्लाह नगरेकै सल्लाहकार कमिटी सदस्यमा राखेको भन्दै सो पद अस्वीकार गरेका थिए ।

पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले रवि लामिछानेको क्रियाक्लाप गलत छन् भन्नेमा मात्र समय खर्चिएनन् माओवादीको १० वर्षे समय हिंसा र आतंक नै थ्यो भन्ने खालको धारणा राखे । माओवादी बारे चर्को टिप्पणी गर्दा माओबादी द्धन्द्धका मुख्य नेता लेखराज भट्ट छेउमै थिए । नेकपा विभाजनपछि एमालेमै रहेका भट्ट अहिले सो पार्टीको केन्द्रीय सचिव र सुदूरपश्चिम इन्चार्ज छन् ।

पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले दिएको मन्तव्यको सारसंक्षेप यस्तो छ :

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको अमेरिका भ्रमण बारे
प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धीमुलक रहेको छ । त्यहाँ उहाँको कुनै खालको विरोध, नाराजुलुस भएको छैन । अहिले भ्रमपूर्ण प्रचारका भइरहेका छन् । प्रधानमन्त्रीको कार्यतालिका निक्कै व्यस्त छ उहाँलाई त्यहाँका विश्वविद्यालयमा सुन्न खोजिएकोले उहाँ ति कार्यक्रममा व्यस्त हुनुहुन्छ । त्यसैले उहाँको एउटा कार्यक्रम स्थगित भयो ।

परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि संयुक्त राष्ट्रसंघको महासभामा व्यस्त हुनुहुन्छ । तर सामाजिक सञ्जालको अत्याधिक दूरपयोग गरेर अनेक हल्ला चलाइएका छन् । यसले बैकल्पिक शक्ति बन्छौ भन्नेको नियत प्रस्ट पारेको छ ।

रास्वपाका सभापति रवि लामिछानेले आफूमाथिको अनुसन्धान प्रभावित बनाउन प्रधानमन्त्री र परराष्ट्रमन्त्री विरुद्ध दुस्प्रचार गरिहरेका छन् यो लज्जास्पद छ । यस्तो गर्नु कानुनी राज्यको उपहास हो । उहाँ (रबि) ले निशर्तरुपमा अनुसन्धानमा सहयोग पुगाउनु पर्छ । सहकारीको पैसा कम्पनीमा लगानी गर्न कानुनले दिदै दिदैन, सहकारीको पैसा अनुचितरुपमा कम्पनीमा ल्याएर जथाभावी खर्च गर्ने अहिले क्लीन चिट पाए भन्ने, क्लीन चिट कि अनुसन्धानपछि पाउन सक्छन् कि अदालतले निर्णय दिन सक्छ । अनुसन्धानका लागि प्रहरीले कहिले कसलाई पक्राउ गर्ने त्यो प्रहरीले नै गर्ने काम हो राज्यले त्यसमा हस्तक्षेप र चाँसो राख्न सक्दैन ।

माओवादी बारे पोख्रेल र योगेश भट्टराईको समान धारणा
हामीले युद्ध लड्नेको प्रशंसा गरेका छौ, गलत कुराको विरोध गरेका हौ । माओवादी कालमा वस आगजनी गर्ने, घर जलाउने काम हिंसा नै हो, त्यो राज्य आतंक नै थ्यो, सत्य निरुपण आयोगले पनि ती कुरा स्वीकार गरेको छ । प्रतिनिधि सभामा (एमाले नेता योगेश भट्टराईद्धारा) बोलिएको कुरा त्यो असंसदीय अभिव्यक्ती होइन । त्यही कारण संसद अवरुद्ध गर्नु ठिक थिएन । माओवादीमा त्यसमा सच्चिएर आएको छ त्यसका लागि धन्यवाद दिनैपर्छ । प्रधानमन्त्रीको १०० दिन नपुग्दै सरकार छोड्नु परेको छटपटीमा पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ती ठिक थिएन ।

एमालेले एक्लै बहुमत ल्याउछ
अहिले संविधान कार्यान्वयनको एक दशकमा सबल पक्ष खोज्ने र कमजोर पक्षमा संशोधन गर्नुपर्ने छ । विकास र स्थायीत्वका लागि एकल बहुमतको सरकार आवश्यक रहेको छ । छिमेकी भारत र चीनको विकास हुनुमा पनि क्रमशः प्रधानमन्त्री नरेन्द्र मोदी र सी जिनफिङको लगातार तीन पटकको नेतृत्व पनि मुख्य कारण हो ।

त्यसैकारण ठुला दल एमाले र कांग्रेसले स्थायित्व दिन मिलेर सरकार बनाएका हौ । आगामी चुनावमा जसको भए पनि एकल बहुमतको सरकार हुन जरुरी छ । कांग्रेस र एमाले दुईवटै दलले कसैसंग चुनावी तालमेल नगरिकन एक्लाएक्लै चुनाव लड्ने भनिसकेका छौ । एमालेले एकल बहुमत ल्याउने गरेर काम गरिहेको छ, एकल बहुमत पाउछौ ।

अहिलेको सरकार मुलुकमा लोकतन्त्रलाई सही दिशामा लैजान, आर्थिक प्रगति गर्न, युवा पलायन रोकेर मुलुक निर्माणमा लगाउनका लागि समेत बनेको हो । पहिलेको माओवादी अर्थमन्त्रीले विगारेको आर्थिक अवस्था अहिले सुधार हुँदै गएको छ, उद्योगी व्यवसायी खुसी भएका छन् , विदेशी लगानी बढेको छ ।

गेटामा मेडिकल विश्वविद्यालय बनाउन सरकार लागेकोले त्यस बारेको विद्येयक संसदमा छलफलमा रहेको त्यो पारित भएपछि र पाठ्यक्रम बनाइएपछि डाक्टर पढाउने कोटा निर्धारण हुन्छ ।


प्रतिक्रिया दिनुहोस्
विशेष समाचार