३ आश्विन २०८१, बिहीबार

सशत्रको बिओपी भवन बगेको क्षेत्रमा प्रदेश सभा सदस्यको अनुगमन (भिडियो सहित)



धनगढी/ सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरुले धनगढी उपमहानगरपालिका–१९ को लल्लीपुरको डुबान अन्त्य गर्न दीर्घकालिन उपाय खोज्ने प्रयास गर्ने बताएका छन् ।

सोमबार सो क्षेत्रको अनुगमन गरेका प्रदेश सभा सदस्यहरु पदमबहादुर शाही, धर्मराज पाठक र डा. ताराप्रसाद जोशीले सो प्रतिवद्धता गरेका हुन ।

गत साता आएको भिषण बाढीले धनगढी उपमहानगरपालिका–१९ लल्लीपुर क्षेत्रमा मोहना नदी बस्तीतिर फर्किएर चार विगाह जति जमिन, ७३४ को ८ नम्बर सीमा स्तम्भ र सशस्त्र प्रहरीको दुई वटा विओपी भवन बगाएको थियो । भने वडा नम्बर १८ र १९ मा २५ विगाह जमिनमा लगाइएको धानबाली विग्रेको छ ।

प्रदेश सभा सदस्य शाहीले तीनै तहका सरकार मिलेर फेरि बाढी नपस्ने गरेर दीर्घकालिनरुपमा समाधान हुने खोज्नु पर्ने बताए । अर्का प्रदेश सभा सदस्य धर्मराज पाठकले मोहना नदीको अनियन्त्रित पानीले गर्दा कैलाली जिल्लाभर प्रभाव पार्ने भएकोले त्यसको समाधानका लागि प्रदेश सभामा कुरा उठाउने र सरकारलाई पनि घचघचाउने बताए ।

प्रदेश सभा सदस्य डा. जोशीले मोहना नदीको वाढीले उत्पन्न परिस्थितिले नेपाली जनताको सुरक्षामा समेत चुनौती थपिने भएकोले पहिलेकै क्षेत्रमा शसस्त्र प्रहरीको विओपी कसरी स्थापना गर्न सकिन्छ ध्यान दिन जरुरी रहेको बताए ।

सशस्त्र प्रहरी बल ३४ नम्बर गणका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेका अनुसार नदीको धार परिवर्तन भएपछि लल्लिपुर विओपिमा निर्माण गरिएका संरचना बगेका छन् । हाल सो क्षेत्रबाट नजिकै रहेको सामुदायिक भवनमा विओपी सारिएको छ । उनले बिओपी निर्माणका लागि सवै निकायसंग समन्वय भइरहेको बताए ।

सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम र तस्करी नियन्त्रण गर्ने उद्देश्यका साथ कैलालीको विभिन्न स्थानमा सशस्त्रको बिओपी कार्यालय राखिएको छ ।

वडाअध्यक्ष बाँधुराम चौधरीले बिओपी नहुँदा विगतमा पशुचौपाया लगायतका धनमाल हतियारधारी भारतीय लुटेराहरुले लैजाने गरेको थियो त्यसैले बिओपी जरुरी छ फेरि बिओपी राख्न सर्वदलिय छलफल गर्ने तयारी गरिरहेको बताए ।

उनले सो क्षेत्रमा सङघ, प्रदेश र स्थानीय तहका प्रतिनिधिले अनुगमन गरिरहेकोले पनि यहाँको समस्या समाधान हुने अपेक्षा गरेको बताए ।

ग्लोबल सेन्ट फर क्लाईमेट एण्ड सेकुरेटी गभर्नेन्स (जिसियजी)को पहलमा सो क्षेत्रको अनुगमन भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार