३ आश्विन २०८१, बिहीबार

अघिल्लो भन्दा ३० करोडले बढ्यो बजेट




धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपियाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

चालु आर्थिक वर्षको दुई महिनासम्म बजेटविहीन भएको सुदूरपश्चिममा सरकारका तर्फबाट आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सोमबार प्रदेश सभामा चालु आर्थिक वर्षका लागि अनुमानित संशोधित बजेट प्रस्तुत गरे ।

उनले सरकारले चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख पाँच हजार रुपियाँ (४०.६५ प्रतिशत) बजेट विनियोजन गरेको छ । यसैगरी, पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख २३ हजार रुपियाँ (५९.३२ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ एक करोड रुपियाँ (०.२ प्रतिशत) बजेट विनियोजन गरेको बताए ।

प्रस्तुत बजेटको आकार अघिल्लो बजेटको तुलनामा ३० करोडले बढी रहेको छ । यसअघि, तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले असार १ गते ३१ अर्ब ३२ करोड ९८ लाख रुपियाँको बजेट सदनमा प्रस्तुत गरेको थियो । तर, राजनीतिक उतारचढावका कारण सो बजेट पारित हुन नसकेपछि प्रदेश सरकारले केही परिमार्जन र पुनरावलोकन गरेर फेरि बजेट प्रस्तुत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार