४ आश्विन २०८१, शुक्रबार

नयाँ पार्टी खोल्न डा. भीमबहादुर रावललाई दवाव




टीकापुर/ एमालेका पूर्व उपाध्यक्ष डा. भीमबहादुर रावललाई नयाँ पार्टी खोल्न दवाव दिन थालिएको छ ।

टीकापुरका एमाले, एकीकृत समाजवादी र विभिन्न क्षेत्रका अगुवाहरुले औपचारिक कार्यक्रम र अनौपचारिकमा रावललाई नयाँ पार्टी स्थापना गर्न दवाव दिएका हुन ।

टीकापुरको सिद्धार्थ होटलमा बसेका रावललाई एमाले निकटले कार्यक्रमै र अरुले कार्यक्रमपछि भेटेरै पार्टी खोल्न सुझाव दिएका छन् ।

पार्टी खोल्न आग्रह गर्ने अधिकांशले एमालेमा बसेर अपमानित हुन नहुने तर्क गरेका थिए ।

जवाफमा रावलले भने आफू एमालेमै रहेको र रहिरहने खालको आसय व्यक्त गरे । उनले राष्ट्रियता बलियो बनाउन अझै जनता र दलका कार्यकर्ता सक्रिय हुनुपर्ने बताएका थिए ।

नेता रावलले पुराना मात्र होइन र रबि लामिछाने, रेशम चौधरी, सिके रावतहरु लगायतका नयाँ दल समेत राष्टियताको पक्षमा गम्भीर नरहेको संकेत गरे ।

उनले जिम्मेवार दलहरुले ठिक तरिकाले सरकार चलाउन नसकेकोले जनतामा निराशा बढेको र त्यही मौकामा प्रतिगामीहरुले संविधान दिवसलाई कालो दिवसका रुपमा मनाउन खोजेको समेत बताए ।

देशभर जताततै एमालेका कार्यकर्ता रावललाई खुलमखुला भेट्न डराउने गरेको बेला टीकापुरका अधिकांश एमाले कार्यकर्ताले रावलले सम्वोधन गरेको कार्यक्रममा मञ्चमै आशिन थिए । एमाले कार्यकर्ताले रावललाई भव्यरुपमा स्वागत पनि गरेका थिए ।

रावलको कार्यक्रममा पुराना एमाले नेता प्रेम साउद , भोजराज शर्मा, टीकापुरका पूर्व मेयर तपेन्द्र रावल, दानबहादुर विक चित्रण, खड्क साउद, मातृका तिमिल्सेना, नगर अध्यक्ष लक्ष्मण थापा, टीकापुर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष मोहन विक, दीपक रावल, ध्रुवराज खत्री, जनकराज खड्का, सरिता रावल थापा, धनबहादुर रावल, शिवदत्त उप्रेती लगायतका धेरै एमालेहरु उपस्थित थिए ।

रावल बसेको होटलमा भेट्न आउनेको समेत घुँइचो छ । भेट्न जानेमा एकीकृत समाजवादीका जिम्मेवार नेता सूर्यचन्द्र भट्टराई, भैरव रावल, रंग अधिकारी, झपट सोडारी लगायत थिए ।

प्रस्टीकरण : टीकापुरको खुला कार्यक्रममा एमाले नेता शिवदत्त उप्रेती र शिक्षासेवी झपट रावलले मात्र बोलेको र उनीहरुले नेता रावललाई पार्टी नछोड्न, बरु यही पार्टीमा लडेर केन्द्रीय अध्यक्ष तथा प्रधानमन्त्री हुनका लागि लाग्न, अध्यक्ष केपी ओलीसंग मिलेर जान भनेर सुझाव दिएको कुरा सबैतिर बुझ्दा पुष्टी भएको छ । सो कार्यक्रमका बेला कसैले पनि अर्को पाटीै खोल्न रावललाई नभनेको पनि बुझिएको छ । तसर्थ हाम्रो सूचना स्रोतमा भर परेर खुला कार्यक्रममा पनि नेता रावललाई अर्को पार्टी खेल्न सुझाव दिइएको कुरा हाम्रो समाचारमा समेटेर गल्ती भएको महशुस गरेको छौ । तसर्थ त्यसबाट एमाले नेताहरुलाई पर्न गएको असुविधामा जिम्मेबारी लिएर दुःख प्रकट गर्दे समाचारलाई सच्चाएका छौ । (सम्पादक)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार