३ आश्विन २०८१, बिहीबार

दोस्रो पटक मुख्यमन्त्री भएर इतिहास रच्दै शाह




धनगढी / सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसका कमलबहादुर शाहलाई बनाउने तयारी भएको छ । सुदूरपश्चिममा दोस्रो पटक मुख्यमन्त्री बन्ने इतिहास समेत शाहले बनाउने भएका छन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२)बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न आइतबार साँझ ५ बजेसम्मको समय दिएका छन् । शाहले आइतबार दिउँसो नै दावेदारी प्रस्तुत गर्ने बताइएको छ ।

कांग्रेसका एक शिर्ष नेताले दिएको जानकारीअनुसार यसअघि मुख्यमन्त्री भइसकेका शाहले लामो समय काम गर्न नपाएको भन्दै अहिले उनकै नेतृत्वमा सरकार गठन गर्ने समझदारी बनेको हो ।

‘राजनीतिक समीकरण फेरिएपछि छोटो अवधीमै उनी हट्नुपरेको थियो । त्यही कारण उहाँले चाहेअनुसार काम गर्न पाउनुभएन ती नेताले भने ।

सुदूरपश्चिमको मुख्यमन्त्रीको दौडमा प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा, बहादुरसिंह थापा र दिवानसिंह विष्ट थिए तर उनीहरुलाई रोक्दै पूर्वमुख्यमन्त्री समेत रहेका शाह मुख्यमन्त्रीमा दोहोरिने भएका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवाले अहिले शाहलाई मुख्यमन्त्रीमा सहयोग गर्न अन्य आकांक्षीहरुलाई निर्देशन दिएका छन् । देउवाको निर्देशनपछि उनका भतिजा समेत रहेका प्रकाशबहादुर देउवा पनि धनगढी फर्किएका छन् ।

यो सँगै कांग्रेसका शाह दोस्रोपटक सुदूरपश्चिमको पाचौँ मुख्यमन्त्री बन्ने भएका छन् । राजनीतिक समीकरण फेरिएपछि गत २२ चैतमा पदबाट राजीनामा दिएका शाहले १४ महिना प्रदेश सरकारको नेतृत्व गरेका थिए ।

स्रोतका अनुसार पार्टी सभापति देउवाले पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका भतिजा प्रकाश देउवालाई मुख्यमन्त्री बनाउन खोजेका थिए तर पत्नि आरजु देउवालाई परराष्ट्र मन्त्री बनाएका बेला भतिजालाई मुख्यमन्त्री बनाउदा राम्रो सन्देश नजाने र परिवारवादको आरोप खेप्ने डरले शाहलाई नै दोहो¥याउन निर्देशन दिएका हुन् ।

शाहलाई मुख्यमन्त्री बनाउने निर्णय आइतबार बिहान ११ बजे बस्ने प्रदेश संसदीय दलको बैठकले गर्नेछ । सो बैठकमा प्रकाशबहादुर देउवाले नै मुख्यमन्त्रीमा शाहको नाम प्रस्ताव गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार