३ आश्विन २०८१, बिहीबार

धनगढीको ठेकराजमा ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालन




धनगढी/ कैलालीको धनगढीमा रहेको एक विद्यालयमा बुक फ्री फ्राइडे ( किताबबिहिन शुक्रबार) कार्यक्रम लागु गरिएको छ । धनगढी वडा नम्बर ११ मा रहेको ठेकराज माध्यमिक विद्यालमा ‘किताबबिहिन शुक्रबार कार्यक्रम लागु भएको हो ।

मोबाइल मर्मत र इलेक्ट्रोनिक सम्बन्धी तालिम लिन इच्छुक विद्यार्थीका लागि ‘किताबबिहिन शुक्रबार कार्यक्रम लागु गरिएको छ । विद्यालयका कक्षा ७ देखि १२ सम्मका इच्छुक विद्यार्थीलाई हरेक शुक्रवार मोबाइल, कम्प्युटर मर्मत र इलेक्ट्रोनिक तालिम दिन थालेपछि सो कार्यक्रम लागु गरिएको जनाइएको छ ।

धनगढी उपमहानगरपालिकाले काठमाडौंको गुरु इन्स्टिच्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीसँग सहकार्य गरेर हरेक शुक्रबार अतिरिक्त सिप सिकाउन किताबबिहिन कार्यक्रम सञ्चालन गरिएको गुरु ईन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड इन्जिनियरिङका कार्यक्रम संयोजक इन्जिनियर रोशन श्रेष्ठले बताए।

‘शिक्षा सीपसँगै रोजगारी, हाम्रो जिम्मेवारी भन्ने अभियान अन्तर्गत गुरू इन्स्टिच्युटले धनगढी उपमहानगरपालिकासँग सहकार्य गरेर विद्यार्थीहरूलाई मोबाइल, ल्यापटप, डेस्कटप मर्मत र इलेक्ट्रोनिक तालिम दिन थालेको कार्यक्रम संयोजक इन्जिनियर श्रेष्ठले जानकारी दिए। उनले विद्यार्थी विदेशिने क्रम रहेकाले विद्यार्थीहरूले सिप सिकेर स्वदेशमै रोजगारी गर्न र स्वरोजगार बन्न सकुन् भनेर कार्यक्रम लागु गरिएको बताए ।

‘हरेक शुक्रबार विद्यार्थीहरूलाई मोबाइल र कम्प्युटर मर्मत तथा इलेक्ट्रोनिक उपकरण मर्मत सम्बन्धी सिप सिकाउँछौँ,’ कार्यक्रम संयोजक श्रेष्ठले भने, ‘जसले गर्दा उनीहरूले घरमा बिग्रेको सामान मर्मत गर्न सक्नेछन् भने मोबाइल, कम्प्युटर पङ्खा र हाउस वायरिङ गरेर पढ्दापढ्दै आय(आर्जनसमेत गर्न सक्ने हुनेछन् । उपमहानगरसँग सहकार्य गरेर ठेकराज माध्यमिक विद्यालयमा यो वर्ष भरी इच्छुक विद्यार्थीहरूलाई हामीले हरेक शुक्रबार विद्यालयमै गएर सिप सिकाउने छौँ ।’

धनगढीका अन्य विद्यालयमा पनि कार्यक्रम विस्तार हुने
ठेकराज माध्यमिक विद्यालयमा तालिम सफल र प्रभावकारी देखिए अर्को वर्षदेखि धनगढीका अन्य सामुदायिक विद्यालयमा समेत कार्यक्रम लागु हुने भएको छ । यो वर्ष ठेकराज माध्यमिक विद्यालयका कक्षा ७ देखि १२ सम्मका ३० जना विद्यार्थीलाई तालिम दिन थालिएको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख घुम्मनसिंह बडायकले बताए ।

उनले हरेक शुक्रबार ४ घण्टाका दरले एक वर्षसम्म विद्यार्थीहरूलाई तालिम दिइने बताए। ठेजराज माविमा कार्यक्रम सफल भए धनगढीका अन्य सामुदायिक विद्यालयमा समेत औपचारिक शिक्षासँगै सिप प्रदान गरेर विद्यालयबाट सीपयुक्त जनशक्ति निर्माण गर्ने योजना रहेको महाशाखा प्रमुख बडायकले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार