१२ आश्विन २०८१, शनिबार

छिटफुट वर्षाले धनगढीमा तापक्रम घट्यो



केही वर्ष अगाडि परेको वर्षाले जलमग्न धनगढी । फाइल तस्बिर

धनगढी/ धनगढीमा बुधबार राती परेपछि तापक्रम घटेको छ । महाकाली बेसिनका प्रमुख सञ्जयकुमार साहका अनुसार बिहीबार बिहानको न्युनतम तापक्रम २६ र साँझ ५ : ४५ बजे रेकर्ड अनुसार अधिकतम तापक्रम ३८.२ डिग्रीमा झरेको छ ।

बुधबार राति ०.६ मिलिलिटर वर्षा भएपछि न्युनतम तापक्रम ३० डिग्रीबाट २६ मा झरेको हो । धनगढीको अधिकतम तापक्रम पनि ४४. १ डिग्रीसम्म पुग्ने गरेको थियो ।

बुधबारको पानीले जमिन पनि भिजेन तर पनि तापक्रम घटेर केही राहत भएको छ, जमिन भिज्न १५ देखि २० मिलिलिटर वर्षा हुन जरुरी हुन्छ महाकाली बेसिनका प्रमुख साहले बताए । उनका अनुसार मनसुनी वायु तीन वा चार दिनमा सुदूरपश्चिम पुगेपछि वर्षा हुने सम्भावना रहेको छ ।

धनगढीमा लगातार अत्याधिक तापक्रम ४० डिग्री सेल्सियसदेखि ४४. १ डिग्रीसम्म हुने गरेको छ । मंगलबार धनगढीको तापक्रम ४३.१ अधिकतम र न्युनतम ३० डिग्री थियो । यस्तै गरेर बुधबार अधिकतम ४२.३ र न्युनतम ३०.८ डिग्री थियो ।

यसपटक मे ३० ( जेठ १७ गते ) मा सबैभन्दा बढी ४४.१ डिग्रिसेल्सियस तापक्रम पुगेको थियो । महाकाली बेसिनका प्रमुख साहका अनुसार जुन महिनाका १८ दिनमा चार दिन २,३, ५ र ६ बाहेकका १४ दिनमा धनगढीको तापक्रम ४० डिग्रिसेल्सियस कटेको छ ।

यस्तै गरेर मे महिनामा १४ दिन ४० डिग्रिसेल्सियस तापक्रम कटेको थियो । मे महिनामा ५, ६, १५, १६, १७, १८, २४, २५, २७, २८, २९, ३०, ३१, ३२ तारिखमा ४० डिग्रिसेल्सियस भन्दा बढी तापक्रम पुगेको थियो ।

धनगढीमा यसपटक अप्रिल महिना (वैशाख ७ गते) देखि गर्मी बढेको हो । महाकाली बेसिनका प्रमुख साहका अनुसार अप्रिल १९ २६ र २९ मा गरेर तीन दिन ४० डिग्रिसेल्सियस तापक्रम पुगेको थियो ।

उहाँका अनुसार ३७ डिग्री तापक्रम पुगेपछि सामान्य, ४० मध्यम र ४२ डिग्रीलाई अत्याधिक गर्मी भन्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार