बझाङमा जयपृथ्वीमा एमालेलाई धोका भएपछि कांग्रेसले अग्रता लियो
बझाङ/ बझाङको प्रदेश सभा १ को उपनिर्वाचनमा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । लामो समय एमालेका दमन भण्डारी अगाडि रहँदै आएका थिए । तर पछिल्लो गणनामाभण्डारीलाई उछिन्दै नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता लिएका हुन् ।
सिंहले सात हजार ८४० मत पाएका छन् भने नेकपा एमालेका भण्डारीले सात हजार ५५७ मत पाएका छन् । उपनिर्वाचनको सुरुआती मत गणनामा नेकपा एमालेले दोब्बर मतसहित अग्रता बनाएको थियो ।
सदरमुकाम चैनपुर समेत रहेको जयपृथ्वी नगरपालि (जनपा) को मत गणना हुँदा एमाले पछाडि परेको हो । जनपामा एमालेले अपेक्षा गरेको मत नपाउदा पछाडि परेको एमाले नेता लोकेन्द्रबहादुर सिंहले बताए ।
उनले अहिले मष्टाको गणना भइरहेको र तलकोटको गणनापछि एमाले अगाडि जाने दावी गरे ।
६१ हजार ७४८ मतदाता रहेकोमा ३० हजार ३२८ जनाले मतदान गरेका थिए । अहिलेसम्म २० हजार ३३ मत सदर भएका छन् ।
अझै करिब आठ हजार मत गणना हुँन बाँकी छ । सो क्षेत्रमा सात वटा पालिका र थलारा गाउँपालिकाको वडा नम्बर ९ मध्ये जयपृथ्वी नगरपालिका ११, छविसपाथिभरा ७, खप्तडछान्ना गाउँपालिका ७ वडाको गणना भइसहेको छ ।
अहिले मष्टा गाउँपालिकाको गणना भइरहेको छ । अब थलारा गाउँपालिकाको वडा नम्बर ९ तलकोटका ७, साइपालका ५, र सूर्माका ५ वडाको गणना बाँकी छ ।