इन्डी फिल्म मेकरको लागि स्ट्रिमीङ्ग प्लेटफर्म कान्तिपुर सिनेमाज
काठमाडौं / कान्तिपुर सिनेमाज इन्डिपेन्डेन्ट फिल्म मेकरहरुको लागि फिल्म रिलिज गर्ने एउटा उपयुक्त वैकल्पिक प्लेटफर्म बन्न थालेको छ । ‘मदर’, ‘मुखिया’, ‘रितु’, ‘खरानी’,
‘पँखेटा’लगायत इन्डिपेन्डेन्ट फिल्महरूको स्ट्रिमीङ्ग गरिरहेको ओटीटी प्लेटफर्मले आजबाट अर्को इन्डी फिल्म ‘नेपाली फिक्सन’को स्ट्रिमीङ्ग सुरु गरेको छ ।
एक ग्याङ्गस्टारको घरमा लागुऔषधको समान पुर्याउन गएका दुई चोरबिच हिस्सा बाँडफाँडको बेला भएको मनमुटाव र लालचबाट निम्तिने अन्तरद्वन्द्वलाई फिल्ममा कमेडी शैलीमा प्रस्तुत गरिएको छ । फिल्मको गत फागुन २ गते काठमाडौँस्थित विश्व ज्योति हलमा प्रिमियर गरिएको थियो । प्रिमियरमा ‘नेपाली फिक्सन’ले उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।
यो फिल्म २०२२ मा बनाइएको थियो । यसका निर्देशक देवेन्द्र खत्री हुन् । उनी कान्तिपुर फिल्म एकेडेमीका फिल्म विद्यार्थी हुन् । उनले थुप्रै सर्ट फिल्महरू बनाएका छन् । उनी नेपाली सिरिज ‘ब्रह्माण्ड’, प्रदर्शनरत फिल्म ‘अगस्त्य’ र हाल छायांकनरत फिल्म ‘मेयर’का सहायक निर्देशक हुन् ।
पाँच पात्र वरपर घुम्ने ‘नेपाली फिक्सन’मा पछिल्लो समयका उम्दा उदयमान फिल्म स्कुल तथा थिएटरका कलाकारहरू सन्जोग रसाइली, रुजा राउत, विमल पुरी, सुप्रज्ञा शर्मा र रुपेश दाहालले अभिनय गरेका छन् । फिल्ममा आशिष घिमिरेको छायांकन र सजल लोप्चनको सम्पादन छ ।
यस फिल्मलाई संसारभरबाट कान्तिपुर सिनेमाजको वेभसाइट लगइन गरेर वा मोबाइलमा एप डाउनलोड गरेर पनि हेर्न सकिनेछ । हाल नेपाली फिक्सनसँगै यस ओटीटी प्लेटफर्ममा ‘ब्रह्माण्ड’, ‘मिस स्कार्लेट’, ‘लभ सूत्र’, ‘जुलेबी’, ‘ज्याकी आई एम ट्वान्टी वान’, ‘चि मुसी’लगायत २४ घण्टाका एक्सक्लुसिभ फिल्म र सिरिज स्ट्रिमिङ भइरहेका छन् ।