एमालेले सुदूरपश्चिमको कञ्चनपुरमा बनायो पहिलो महिला अध्यक्ष
![](https://i0.wp.com/anumodankhabar.com/wp-content/uploads/2024/03/Uml-Kanchanpur-768x576.jpg?resize=720%2C540&ssl=1)
धनगढी/ नेकपा (एमाले) कञ्चनपुरको अध्यक्षमा लक्ष्मी बुढा चयन भएकी छन् । अधिवेशनबाट सुदूरपश्चिममा महिला अध्यक्ष बनेको यो पहिलो हो । यसअघि उनी कार्यवहाक अध्यक्ष थिइन । एमालेले यसअघि बैतडीमा पनि दलित परिवारबाट राजनीतिबाट आएका नरेश विकलाई जिल्ला अध्यक्ष बनाएको थियो । दलित परिवारबाट आएका विक सुदूरपश्चिममा पहिलो दलित अध्यक्ष हुन ।
कञ्चनपुरमा नवौँ जिल्ला अधिवेशनमा अध्यक्षसहितका सबै पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्षमा जनकराज अवस्थी, सचिवमा पल्लवराज भट्ट, उपसचिवमा अशोक चन्द र राजीव खड्का चयन भएका छन् ।
अध्यक्ष मण्डलले सोमबार राति सर्वसम्मत निर्वाचित भएका पदाधिकारीहरूको घोषणा गरेको थियो । राति नै पद तथा गोपनीयताको शपथ पनि गराइएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले १ चैतमा अधिवेशन उद्घाटन गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । सोमबार राति अध्यक्ष ओलीकै उपस्थितिमा सर्वसम्मत पदाधिकारी घोषणा गर्दै ओलीको उपस्थितिमा निर्वाचन आयोगका केन्द्रीय सदस्य मनोज खड्काले शपथ खुवाएका थिए ।