५ आश्विन २०८१, शनिबार

इन्टेग्रिटी आइकन प्रदेश स्तरीय बनाउनुपर्नेमा जोड



धनगढी/ इन्टेग्रिटी आइकन नेपाललाई प्रदेश स्तरीय बनाउनुपर्ने सरोकारवाला निकायले जोड दिएका छन् । धनगढीमा मंगलबार एकाउण्टीबिलीटि ल्याब नेपालले गरेको छलफल कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

जवाफदेही सार्वजनिक संयन्त्र निर्माणका चुनौती र अवसर विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् । एकाउण्टीबिलीटि ल्याब नेपालले हरेक वर्ष उत्कृष्ट ५ सरकारी कर्मचारीलाई इन्टेग्रिटी आइकन भनेर घोषणा गर्ने गर्दछ । त्यसै अनुरुप यस वर्ष पनि इन्टेग्रिटी आइकन नेपाल २०२३ सार्वजनिक गरिएको छ । अन्य कर्मचारीलाई पनि काम गर्ने हौसला मिलोस् भनेर उत्कृष्ट ५ जना कर्मचारीको भिडियो देखाइएको छ ।

स्वास्थ्य तालिम केन्द्र धनगढीका प्रमुख नरेन्द्रसिंह कार्कीले सबै आ आफ्नो क्षेत्रमा उत्कृष्ट भएको बताएका छन् । उनले विषम परिस्थितिमा पनि काम गर्नु एकदमै हिम्मतको कुरा भएको बताएका छन् । उनले “यसरी काम गर्ने हरेक क्षेत्र र प्रदेशमा छन् –उनले भने ‘यसलाई प्रदेश स्तरीय बनाउन सके अझैँ राम्रो हुन्छ ।

,” स्वास्थ्य तालिम केन्द्रका लेखा अधिकृत सरस्वती घिमिरे इन्टेग्रिटी आइकन नेपालले सम्मान गरेका उत्कृष्ट पाँच जनाको भिडियो हेर्न पाउँदा एकदमै खुसी लागेको बताइन् । उनले यसले आफूलाई अझै राम्रो काम गर्नुपर्छ भन्ने हौसला मिल्ने बताइन् । “ यसको बारेको थाहा थियो तर, यसको प्रक्रिया थाहा थिएन आज थाहा भयो उनले भनिन् यो भिडियो हरेर भित्री मनदेखि नै अझैँ राम्रो काम गर्ने हौसला मनोबल बढेको छ ।,” उनले सबै जना आ आफ्नो क्षेत्रमा उत्कृष्ट रहेको बताउँदै यसको प्रचारप्रसार अझै गर्न सके सहज हुने बताइन् ।

धनगढी उपमहानगरपालिकाका सामुदायिक शाखा प्रमुख टंकबहादुर विष्टले यसलाई प्रदेश स्तरीय बनाउन सके अझैँ राम्रो हुने बताएका छन् । उनले एक प्रदेशबाट कम्तीमा एक जना पनि पर्न सके अरूलाई अझै काम गर्ने हौसला मिल्ने बताए । यस्तै सका बारेमा अझै प्रचार प्रसार गर्न सक्यौ भने अझै धेरैलाई जवाफदेही र निष्ठावान कर्मचारी बन्न प्रेरणा मिल्ने बताए ।

धनगढी उपमहानगरपालिका महिला विकास अधिकृत पंकजा जोशीले भिडीयोको बारेमा थाहा पाएको बताइन् । आफूूले गरिरहेको कामलाई अझै राम्रो कसरी बनाउन सकिन्छ भनेर यस भिडीयोले थप हौसला मिलेको बताइन् । यस्तै भावना सबैमा जाग्न सक्यो भने राष्ट्रप्रेम पनि जाग्ने उनले बताइन् ।

यो वर्ष विभिन्न पाँच विधाबाट प्रतिनिधित्व गर्दै नारायणी अस्पताल वीर गन्जका नर्सिङ निरीक्षक हेमा थापा, महिला तथा बाल बालिका विभागका निर्देशक निरा अधिकारी , शितोष्ण बागवानी विकास केन्द्र मार्फा मुस्ताङका बागवानी विकास अधिकृत पद्मनाथ आत्रेय, जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत प्रतीक राई र मनमैजु माध्यमिक विद्यालय तारकेश्वर काठमाडौँका प्रधानाध्यापक रविना महर्जनलाई इन्टेग्रिटी आइकनको रूपमा सार्वजनिक गरिएको छ । यस वर्ष इन्टेग्रिटी आइकनका लागि देशभरिबाट ४ सय ६६ मनोनयन प्राप्त भएका थिए ।

प्राप्त मनोनयनहरूबाट निर्णायक समितिले यस वर्षका लागि पाँच जना इन्टेग्रिटी आइकन छनोट गरेको हो । नेपालबाट सुरु भएको यो कार्यक्रम अहिले विश्वका १६ देशमा फैलिएको छ । धनगढीमा आज भएको कार्यक्रममा सरकारी कर्मचारी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण एकाउण्टीबिलीटि ल्याब नेपाल सुदूरपश्चिमका कार्यक्रम संयोजक गंगा भण्डारीले गरेका हुन् । उनले इन्टेग्रिटी आइकनमार्फत सार्वजनिक संयन्त्र भित्रका सदाचार प्रवर्द्धन गर्ने कर्मचारीलाई खोजेर जवाफदेही संयन्त्र निर्माणका लागि थप प्रोत्साहित गर्दै आइरहेको बताइन् । कार्यक्रमको सञ्चालन तेज बोहराले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार