१० पुष २०८१, बुधबार

लगानी बोर्डको टोली सुदूरका पहाडी जिल्लाको निरीक्षणमा



डडेल्धुरा/ नेपाल सरकार अन्तरगतको लगानी बोर्डको टोलीले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुको स्थलगत निरीक्षण गरेको छ ।

लगानी बोर्डको टोली डडेल्धुरा, डोटी र बझाङको स्थलगत निरीक्षणपछि फर्किएको हो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टको नेतृत्वमा नौ जना प्राविधिक सहितको टोली स्थलगत निरीक्षणका लागि सुदूरपश्चिमका पहाडी जिल्ला पुगेको थियो ।

प्रमुख कार्यकारी अधिकृत भट्टका अनुसार तीन जिल्लाका निर्माणाधिन विकास योजना र अध्ययनका क्रममा रहेका योजनाको निरीक्षण गरिएको छ ।

पश्चिम सेतीको डुबान क्षेत्रमा पर्ने बझाङको देउरा बजारको अवलोकन गरेका छौं, उनले भने, डडेल्धुरा, डोटी र बझाङका सडक, विद्युत आपूर्ति, खानेपानी तथा सरसफाई लगायत अन्य आवश्यक पूर्वाधारको बस्तुस्थितिको यथार्थतालाई पनि अवलोकन गरेका छौं ।

उनका अनुसार प्राविधक टोली देउरा बजारबाट बझाङको तमैल हुँदै दारगाउँबाट ८ घण्टाको पैदल यात्रा गरेर लोखडा हुँदै खप्तड सम्म पुगेको थियो ।

खप्तडमा पूर्वनिर्धारित कार्यतालिका बमोजिम खप्तड अन्तराष्ट्रिय अध्यात्मिक सम्मेलनको दोस्रो दिनमा मैले खप्तड एकीकृत पर्यटन परियोजनाको अध्ययन कार्यको बारेमा थप पक्षहरुको उल्लेख गरेको थिए, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले भने, अर्काे दिन हाम्रो टोलीले पश्चिम सेती र सेती नदी–६ को विकासकर्ता कम्पनीसँग विस्तृत सम्भाव्यता अध्ययन लगायत अन्य सम्बन्धित पक्षहरुको बारेमा छलफल गरेको थियो ।

उनका अनुसार सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा र आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीसंग पश्चिम सेती, सेती नदी–६, खप्तड एकीकृत पर्यटन परियोजना लगायत विषयमा छलफल पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार