२८ पुष २०८१, आईतवार

अवोध बालिका तीन वर्षदेखि साँग्लोमा




बैतडी/ बैतडीको दशरथचन्द नगरपालिका–५ नौहाटगाँकी एक ६ वर्षीया बालिका तीन वर्षदेखि दाम्लोमा बाँधिएकी छिन् । ती बालिकालाई एउटा अध्याँरो कोठामा दाम्लोमा बाधेर राखिएको छ ।

उनका बुला ३० वर्षीय सुरेश भट्ट कमरको चोटका कारण हिडडुल गर्न सक्दैनन् । बालिका बोल्न सक्दिनन् । उनकी आमा दुरादेवीले छोरीको मानसिक अवस्था कमजोर रहेको र खुला छोड्दा भागेर गाउँ चहार्ने भएकोले बाध्नु परेको बताइन् ।

आर्थिक रुपमा विपन्न सुरेशले राम्रोसँग उपचार गर्न पाएका छैनन् । दुरादेवीले आर्थिक अभावका कारण श्रीमानको राम्ररी उपचार गर्न नपाएको बताइन् । उनले भनिन्– एउटी मात्र छोरी छ । उसको पनि मानसिक अवस्था ठिक छैन । नबाँधौ भने घरबाट भागेर जान्छे ।

उनीहरुको आफ्नो घर छैन । उनीहरु छिमेकीको घरमा आश्रय लिएर गुजारा गरिरहेका छन् । दुरादेवीका अनुसार छोरीलाई छ महिना उमेरमै निमोनिया रोग लागेको थियो । उनका बुवा सुरेशले रिनसापट गरेर भारतको पिथौरागढमा उपचार गराएका थिए । तर, उपचारपछि छोरी बोल्न नसक्ने बनिन् ।

बालिकाको राम्रोसँग उपचार हुनपाएको छैन । सुरेशका छिमेकीहरुले भने– उनीहरुको आफ्नो घर छैन । रुखबाट खसेर सुरेशको कम्मरमा गम्भीर चोट लागेको थियो । राम्ररी उपचार हुनपाएन । उनीहरुको आर्थिक अवस्था निकै कमजोर छ ।

यसैबीच, दशरथचन्द नगरपालिका–४, मा रहेको रोयल हिल युथ क्लवले बालिकाको परिवारलाई खाद्यान्न सहयोग गरेको छ । क्लवका अध्यक्ष मोहित भण्डारीले बालिकालाई बाँधेर राखिएको बताए । भने– उपचार गर्न आर्थिक अभाव रहेछ । हामीले होली खेलेर संकलन गरेको रकमबाट खाद्यान्न खरिद गरेर प्रदान गर्यौं ।

दशरथचन्द नगरपालिका–५, का वडाध्यक्ष केशव लेखकले वडा कार्यालयबाट बालिकाका लागि सामाजिक सुरक्षा भत्ताका लागि सिफारिस गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार