८ पुष २०८१, सोमबार

विश्वासको मतसम्बन्धी प्रस्ताव : मुख्यमन्त्री शाहको पक्षमा दुई तिहाई बढी मत




धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभामा विश्वासको मत प्राप्त गरेका छन् । आज आइतबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले प्रस्तुत गरेको विश्वासको मत प्रस्तावको पक्षमा ४१ (दुई तिहाई बढी) मत प्राप्त भएको छ ।

विश्वासको मतको पक्षमा नेपाली काङ्ग्रेसका १९, नेकपा माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा एकीकृत समाजवादीका चार र एक जना स्वतन्त्र प्रदेश सांसदले समर्थन गरेका थिए । नेकपा एमालेका १० जना र राप्रपाका एक जनाले विश्वासको मतको विपक्षमा मतदान गरेका थिए । प्रदेश विश्वासको मतसम्बन्धी प्रस्तावउपर छलफलपछि भएको मत विभाजनको परिणाम घोषणा गर्दै सभामुख भीमबहादुर भण्डारीले भने– माननीय मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त होस् भनि राख्नु भएको प्रस्तावको पक्षमा जम्मा ४१ मत परेको र उक्त सङ्ख्या प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत रहेकोले मुख्यमन्त्री कमलबहादुर शाहले यो सदनबाट विश्वासको मत प्राप्त गर्नुभएको घोषणा गर्दछु ।

यसअघि विश्वासको मतसम्बन्धी प्रस्तावमा मुख्यमन्त्री तथा नेपाली काङ्ग्रेस संसदीय दलका नेता शाह, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्, नेकपा एमालेका चक्रबहादुर मल्ल, नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी, राप्रपाका खेमादेवी बिष्ट, एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारी र स्वतन्त्र प्रदेश सांसद ताराप्रसाद जोशीले धारणा व्यक्त गरेका थिए ।

नेपालको संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दलको संसदीय दलको हैसियतमा माघ २६ गते काङ्ग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्री नियुक्त भएका थिए ।

यसअघि संविधानको धारा १६८ (२) अनुसार गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल नेतृत्वको सरकार प्रदेश सभामा विश्वासको मत प्रस्तावमा असफल भएपछि ढलेको थियो । मुख्यमन्त्री नियुक्तिको वेला समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका प्रदेश सांसदहरू विश्वासको मत प्रस्तावमा उपस्थित नभएपछि रावल नेतृत्वको सरकार असफल भएको थियो ।

तर, राष्ट्रपतिको निर्वाचनको सवालमा केन्द्रमा सत्ता समिकरण परिवर्तन भएसँगै प्रदेशमा पनि समिकरण बदलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार