१५ कार्तिक २०८१, बिहीबार

मुख्यमन्त्री शाहले २१ गते विश्वासको मत लिँदै




धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने तयारी गरेका छन् । संविधानको व्यवस्थाअनुसार आगामी २५ गतेभित्र प्रदेश सभामा विश्वासको मत लिइसक्नु पर्ने भए पनि मुख्यमन्त्री शाहले आगामी २१ गतेभित्रै प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका छन् ।

संघीय सत्तामा पछिल्लो पटक बनेको नयाँ सत्ता समिकरणसंगै सुदूरपश्चिम प्रदेशमा वर्तमान सरकारका लागि सहज बहुमत पाउने सम्भावना रहेको छ ।

यद्दपि बुधबार साँझसम्म प्रदेश सभा सचिवालयले विश्वासको मतसम्बन्धी कुनै सूचना जारी गरेको छैन । तर, काङ्ग्रेसले प्रदेश सभामा दुई तिहाई बढी मत पाउनेमा ढुक्क भएकोले विश्वासको मत लिने तयारी गरेको बताएको छ । काङग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले भने– केन्द्रमा बनेको नयाँ गठबन्धनका आधारमा सुदूरपश्चिम प्रदेश सभामा सरकारले दुई तिहाई बढी मत पाउने निश्चित जस्तै छ । त्यसैले अब हामीले विश्वासको मत लिने तयारी गरेका छौ ।

सुदूरपश्चिम प्रदेश सभामा ५३ सदस्य रहेका छन् । विश्वासको मत प्रस्तावमा सफल हुनका लागि २७ जना सांसदको समर्थन आवश्यक पर्छ । अहिलेको सत्ता समिकरणमा कुनै अप्रत्याशित फेरवदल भएन भने प्रदेश सभामा मुख्यमन्त्री शाह नेतृत्वको सरकारले ्र४१ मत पाउने निश्चित झैं छ ।

प्रदेश सभामा नेपाली काङ्ग्रेसका १९ जना सांसद छन् । त्यस्तै, नयाँ सत्ता गठबन्धनका घटक दलहरू नेकपा माओवादी केन्द्रका १० (सभामुखबाहेक), नागरिक उन्मुक्ति पार्टीका ७ र नेकपा एकीकृत समाजवादी पार्टीका चार जना सांसद रहेका छन् । एक जना स्वतन्त्र सांसदले पनि शाह नेतृत्वको सरकारलाई नै समर्थन दिने सम्भावना रहेको छ ।

यसअघि पुस २७ गते मुख्यमन्त्री नियुक्त राजेन्द्रसिंह रावल विश्वासको मत प्रस्तावमा असफल भएपछि बाहिरिएका थिए । नेकपा एमाले संसदीय दलका नेता रावलले सदनमा विश्वासको मतमा असफल भएर पदमुक्त भएपछि माघ २६ गते नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो पार्टी हैसियतमा शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानको व्यवस्था अनुसार उनले आगामी २५ गतेभित्र सदनमा विश्वासको मत लिइसक्नु पर्नेछ ।

सुदूरपश्चिम प्रदेशमा छ राजनीतिक दलको प्रतिनिधित्व रहेको छ । अहिले प्रमुख प्रतिपक्षी दल बनेको एमालेका १० जना सांसद रहेका छन् । भने राप्रपाका एक सांसद रहेका छन् ।
मुख्यमन्त्री शाहले प्रदेश सभामा विश्वासको मत लिएपछि मन्त्रिमण्डल पनि विस्तार गर्ने तयारी गरेका छन् । हाल उनको मन्त्रीमण्डलमा दुई जना मन्त्री रहेका छन् । काङ्ग्रेसका प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकासमन्त्री रहेका छन् भने एकीकृत समाजवादीका नरेशबहादुर शाही आर्थिक मामिलामन्त्री रहेका छन् । मुख्यमन्त्रीले अब माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सहभागी गराउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार