८ पुष २०८१, सोमबार

मुख्यमन्त्री शाहद्वारा लगानीकर्ताहरूलाई आह्वान




धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा लगानीका लागि लगानीकर्ताहरूलाई आह्वान गरेका छन् । उनले प्रदेशमा ठूला उद्योग कलकारखामा लगानी गर्ने लगानीकर्ताहरूकलाई सुरक्षाका साथै सबै सुविधान प्रदान गर्न सरकार तत्पर रहेको बताए ।

मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशमा बेरोजगारी ठूलो समस्या रहेको उनले ठूला उद्योग, कलकारखानाबाट नै रोजगारीका अवसरहरू सिर्जना हुने बताए ।

आज सोमबार मुख्यमन्त्री कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले “प्रदेशमा ठूलो सङ्ख्यामा रोजगारी सिर्जना नगरिने हो भने सुदूरपश्चिमेली युवा कामदारहरूको विदेशिने क्रम रोक्न नसकिने” बताए । उनले भने– त्यसैले सरकारले प्रदेशमा उद्योग, कलकारखाना खोल्नका लागि लगानीकर्ताहरूलाई आह्वान गरेको छ ।

मुख्यमन्त्रीले मन्त्रीपरिषद्को पहिलो बैठकले प्रदेशमा कृषि उद्योग स्थापनाका लागि पहल गर्ने निर्णय गरेको जानकारी दिए । उनले सुदूरपश्चिम प्रदेशमा कृषि क्षेत्रको अधिक सम्भावना रहेकोले सरकारले प्राथमिकतामा राखेको बताए ।

सञ्चारकर्मीहरूको एक जिज्ञासामा मुख्यमन्त्रीले प्रदेशमा भ्रष्टाचार पूर्ण रुपमा अन्त्यका लागि सरकार गम्भीर रहेको बताए । उनले मन्त्रीपरिषद्को पहिलो बैठकले भ्रष्टाचार अन्त्यका लागि पहल गर्न मुख्यमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा आर्थिक अनियमिता र भ्रष्टाचारको अवस्था र समस्याबारे अध्ययनका लागि समिति गठन गरिसकेको बताए ।

सञ्चारकर्मीहरूको अर्को जिज्ञासामा उनले वर्तमान प्रदेश सरकार पुरै पाँच वर्ष टिक्ने दाबी गरे । उनले प्रदेश सभामा रहेका सबै दलहरूसँग विश्वासको मतका लागि आग्रह गरेको बताए । “हामीलाई सरकारले विश्वासको मत पाउनेमा पूर्ण विश्वास छ” उनले भने ।


पूर्ववर्ति नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल नेतृत्वको सरकार गत माघ २६ गते संसदमा विश्वासको मत प्राप्त गर्न नसकेर ढलेपछि “संसदमा सबैभन्दा ठूलो दलका रुपमा नेपाली काङ्ग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शाह नेतृत्वको सरकारले फागुनको तेस्रो साता सदनमा विश्वासको मत लिने तयारी गरेको बताइन्छ ।

कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा र आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार