१५ कार्तिक २०८१, बिहीबार

सांसद चौधरी आज रिहा हुँदै




धनगढी/ १३ वर्षअघि कैलालीको लम्कीमा ट्याक्टर जलाएको आरोपमा अदालतबाट छ महिना कैदको सजाय पाएका कैलाली क्षेत्र नम्बर २ का निलम्वित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी आज आइतबार रिहा हुने भएका छन् ।

२०६६ साल भदौ ३ गते सांसद अरुणसहितले लम्कीको धोबेनी खोला नजिक ढुंगा बोकेको एक ट्याक्टर जलाएको आरोप लागेको थियो । कैलाली जिल्ला अदालतले २०७० साल बैशाख ९ गते सांसद अरुणसहित तीन जनालाई सो मुद्दामा ६ महिना कैद र विगो वापत आठ लाख १९ हजार रुपैयाँ भराउने फैसला गरेको थियो ।

तर, सांसद अरुण तथा अन्य दुई जनाले कैद भुक्तान गरेका थिएनन् । सांसद अरुण २०७४ सालको निर्वाचनमा लम्कीचुहा नगरपालिका मेयरमा चुानव लडेका थिए भने सोही वर्र्ष मंसिरमा प्रदेश सभा सदस्यको उम्मेदवार रहेका थिए ।

प्रहरीको फरार सूचीमा रहेका उनलाई केही दिनअघि बाँके प्रहरीले कोहलपुरबाट पक्राउ गरेको थियो । उनलाई कैलाली जिल्ला अदालतले जेल चलान गरेको थियो । हाल उनको तर्फबाट उत्प्रेरणाको परमादेश तथा बन्दी प्रत्यक्षीकरणको मुद्दा उच्च अदालत दिपायलमा विचारधीन रहेको छ ।

प्रजातन्त्र दिवसको अवसरमा आज आइतबार उनीसहित कैलाली कारागारबाट आठ जना कैदी रिहा हुँदैछन् ।
निलम्वित सांसद अरुणलाई आममाफीका आधारमा रिहा गर्न सरकारले राष्ट्रपतिलाई सिफारिस गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार