८ पुष २०८१, सोमबार

वर्तमान सत्ता सहयात्रा पाँच वर्षसम्म चल्छ– उपप्रम पौडेल




धनगढी/ उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले वर्तमान सत्ता गठबन्धन पाँच वर्षसम्म कायम रहने दाबी गरेका छन् । नेकपा एमाले उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री पौडेलले वर्तमान सत्ता गठबन्धन काँचो धागोमा नअडिएको पनि दाबी गरे ।

“अहिलेको सत्ता गठबन्धनको सहयात्रा काँचो धागोमा अडिएको होइन” शुक्रबार धनगढीमा एमालेकोे ‘मिशन ग्रासरुट’ अभियानको उद्घाटनका क्रममा उनले भने– यो निकै सुझबुझका साथ सुरु गरिएको सत्ता गठबन्धन हो । यो सहयात्रा पाँच वर्षसम्म चल्छ ।

उनले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे मिडियामा आएका समाचार वा बाहिर भइरहेका होहल्ला गलत भएको दाबी गरे । उनले भने– सरकार गठनका वेला सत्ता गठबन्धनका साझेदार दलहरूबीच भएको सहमति राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा लागू हुन्छ । बाहिर हुने होहल्लाका आधारमा मिडिया पछि लाग्नु हुँदैन ।

सो अवसरमा कैलाली उद्योग बाणिज्य संघले बुझाएको ज्ञापनपत्र बुझ्दै उपप्रधानमन्त्री पौडेलले सरकार व्यवसायीहरूको समस्याप्रति गम्भीर रहेको बताए । उनले मुलुकको अर्थतन्त्र विस्तारै लयमा आउन लागेको बताए । भने– सरकार उद्योगी, व्यापारीहरूको समस्याप्रति गम्भीर छ । सबै मिलेर अहिलेको समस्याको समाधान खोज्नु पर्छ ।

उनले मुलुकको वर्तमान आर्थिक अवस्थालाई “छोटो सिरक ओढेको जस्तो” संज्ञा दिए । भने– छोटो सिरक ओढ्दा टाउको छोपौं भने खुट्टा नांगो हुने, खुट्टा छोपौं भने टाउको नांगै हुने अवस्था छ । त्यसैले अहिलेको अवस्थामा हामी सबैले खुट्टा खुम्चाएर सुत्नुको विकल्प छैन । अहिलेको आर्थिक समस्या सरकारको मात्रै समस्या होइन । यो हामी सबैको समस्या हो । सबै मिलेर नै यसको समाधान खोज्नुपर्छ ।

सो अवसरमा उपप्रधानमन्त्री पौडेलले सरकारले उद्योगी व्यवसायीहरूका समस्याबारे निरन्तर छलफल गरिरहेको बताए ।

कैलाली उद्योग बाणिज्य संघको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री पौडेललाई ज्ञापनपत्र बुझाउँदै बैंक ऋणलाई पुनर्किस्ताको व्यवस्था गर्नुपर्ने, आयात र निर्यातलाई सहज बनाउनु पर्ने र चर्को बैंक ब्याजदर कम गर्न अनुरोध गरेको थियो ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ७ वटै प्रदेशमा भच्र्युअल माध्यमबाट ‘मिशन ग्रासरुट” अभियानको सुरुवात गरेसँगै सबै प्रदेशमा अभियान सुरु भएको छ । उपाध्यक्ष पौडेलल अभियानका लागि सुदूरपश्चिम प्रदेश खटिएका छन् ।

कार्यक्रम नेकपा एमालेका प्रदेश अध्यक्ष तथा उद्योग बाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्ट, स्थायी समिति सदस्य कर्णबहादुर थापा र बृन्दा पाण्डेले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य, प्रदेश सचिवालय सदस्य, नौ जिल्लाका पदाधिकारी र जनवर्गीय संगठनका प्रमुखहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार