८ पुष २०८१, सोमबार

राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन– उपप्रम श्रेष्ठ





डोटी/ नेकपा माओवादी केन्द्रका नेता तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमतिका आधारमा नै राष्ट्रपति चयन हुने बताएका छन् । उपप्रधानमन्त्री श्रेष्ठले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाएको विश्वासको मतलाई समेत सम्बोधन हुने गरी सबै राजनीतिक दलहरुबीच राष्ट्रपति चयनमा राष्ट्रिय सहमति बन्नुपर्ने बताए ।

बिहीबार डोटीमा आयोजित एक कार्यक्रममा उनले भने– संसदमा प्रधानमन्त्रीले पाएको विश्वासको मत झैं राष्ट्रपति निर्वाचनमा पनि राष्ट्रिय सहमति हुनसक्यो भने यसले मुलुकको राजनीति र राष्ट्रिय एकता सही ढंगले अगाडि बढ्नेछ ।

एकअर्को प्रसंगमा उनले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई सदनमा विश्वासको मत दिने वा नदिने भन्नेबारे राजनीतिक दलहरुबीच छलफल जारी रहेको बताए ।

चेम्बर अफ कमर्सद्वारा आयोजित महोत्सव उद्घाटन गर्दै उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठले सरकारले प्राथमिकताकासाथ अधुरा विकास निर्माण योजनाहरु पुरा गर्नेमा ध्यान केन्द्रीत गरेको बताए । उपप्रधानमन्त्री श्रेष्ठले टेण्डर भएर पनि निर्धारित समयमा काम पुरा नभएका आयोजनाहरुलाई प्राथमिकतामा राखेर काम गर्न मातहतका कार्यालय तथा अधिकारीहरुलाई निर्देशन दिइने बताए ।

उनले ठेक्का सम्झौता गरेर समयमा काम नगर्ने निर्माण कम्पनीहरुलाई सरकारले छुट नदिने बताए । उनले भने– इमान्दारिपूर्वक सम्झौता अनुरुपको काम गर्ने निर्माण कम्पनीलाई मात्रै म्याद थप गरेर काम गर्न अनुमति दिइने छ ।
उपप्रधानमन्त्री श्रेष्ठले सम्झौताअनुसार समयमै काम नगर्ने निर्माण कम्पनीसँग ठेक्का सम्झौता रद्द गरिने बताए ।
सो अवसरमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले उपप्रधानमन्त्री श्रेष्ठसामु धनगढी–खुटिया–दिपायल द्रुतमार्ग र अन्य अधुरा योजनाहरु समयमा पुरा गर्न माग गरेका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठले धनगढी–खुटिया–दिपायल द्रुतमार्ग छिटो पुरा गर्न सरकारले ध्यान दिएको बताए । उनले सेती लोकमार्ग र क्षेत्र खप्तड राष्ट्रिय निकुञ्जको विकासमा सरकार गम्भीर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार