८ पुष २०८१, सोमबार

सुदूरपश्चिममा तीन सदस्यीय मन्त्रिमण्डल गठन



मुख्यमन्त्री शाहको मन्त्रीमण्डलमा प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकासमन्त्री र नरेशकुमार शाही आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त


धनगढी/ सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री सहित तीन जनाले सपथ ग्रहण गरेका छन् । तीनै जनालाई शुक्रबार पद् तथा गोपनियताको शपथ ग्रहण गराइएको छ ।

विहीबार नियुक्त मुख्यमन्त्री कमलबहादुर शाहसहित मन्त्रीहरु नेपाली कांग्रेसकै प्रकाश देउवा र नेकपा (एकीकृत समाजवादी) पार्टी नरेश शाहीलाई सपथ ग्रहण गराइएको हो । देउवा कैलाली क्षेत्र नम्बर ५ (ख) र शाही बाजुरा (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

तीनै जनालाई प्रदेश प्रमुख देवराज जोशीले पद् तथा गोपनियताको शपथ ग्रहण गराएका हुन । शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावल, पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट, उपसभामुख कोइलीदेवी चौधरी लगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

नवनियुक्त मन्त्रीहरुको जिम्मेवारी पनि बाँडफाँड गरिएको छ ।

मुख्यमन्त्री शाहले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी मन्त्री शाहीलाई दिएका छन् । यसैगरी, भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी मन्त्री देउवालाई दिइएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री शाह आफैले सम्हालेका छन् ।

निवर्तमान मुख्यमन्त्री रावल नेतृत्वको सरकार बिहीबार विघटन भएपछि प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनेको हो । अघिल्लो सरकारको आयु एक महिनामात्रै रहेको थियो । यसअघिको सरकारले पनि तीन सदस्यीय मन्त्रिमण्डल बनाएको थियो ।

यसैबीच, मुख्यमन्त्री शाहले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण लगत्तै बसेको मन्त्रिपरिषद्ले भ्रष्टाचार नियन्त्रणका लागि प्रादेशिक कार्ययोजना तर्जुमा समिति गठन गर्ने निर्णय गरेको छ ।

समितिले ३० दिनभित्र प्रतिवेदन पेस गर्ने मुख्यमन्त्री शाहले बताए । ‘प्रदेशमा भ्रष्टाचार हुने गरेको गुनासो छ । भ्रष्टाचारका कुराहरु आइरहेका छन् । त्यसैले हाम्रो मन्त्रिपरिषद्ले पहिलो निर्णय भ्रष्टाचार नियन्त्रणका लागि प्रादेशिक कार्ययोजना तर्जुमा समिति गठन गर्ने निर्णय गरेको छ’, उनले बताए ।

यसैगरी, मुख्यमन्त्री शाहले विश्वासको मत प्राप्त भए लगत्तै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताए । ‘मन्त्रिपरिषद्ले छिट्टै नै पूर्णता पाउँछ’, उनले बताए । विश्वासको मत छिटोभन्दा छिटो लिने र विश्वासको मत प्राप्त हुनेमा आफू ढुक्क रहेको मुख्यमन्त्रीको भनाइ थियो । उनले स्थिर सरकार निर्माणका लागि सबै दलसंग खुला बहसमा रहेको बताए ।

यसैगरी, मन्त्रीद्वय देउवा र शाहीले पनि शुक्रबारबाट नै कार्यभार सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार