८ पुष २०८१, सोमबार

सुदूरपश्चिमको तेस्रो मुख्यमन्त्रीमा कांग्रेसका शाह नियुक्त




धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता ५१ वर्षीय कमलबहादुर शाह नियुक्त भएका छन् ।

निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले नागरिक उन्मुक्ती पार्टीको सर्मथन नपाउदा बहुमत गुमाइ पद्मुक्त भएपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम ठूलो दलका हैसियतले नेपाली कांग्रेसका संसदीय दलको नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन । उनलाई बिहीबार साँझ प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरे ।

मुख्यमन्त्री बनेका शाह कैलाली क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएका थिए । उनले एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनु पर्नेछ ।

उनलाई प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको १९, नेकपा (एकीकृत समाजवादी) को चार जना र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य गरेर २४ जनाले समर्थन गर्ने पक्कापक्की छ ।

५३ सदस्यीय प्रदेश सभामा उहाँले एक महिनापछि विश्वास मत पाउन २७ जनाको समर्थन जुटाउनु पर्नेछ । त्यसैले उनले पनि नागरिक उन्मुक्ती पार्टीको समर्थन लिनु पर्ने आवश्यक्ता छ । नागरिक उन्मुक्तीका सात जना प्रदेश सदस्य छन् ।

मुख्यमन्त्रीको नियुक्ती पाएपछि प्रतिक्रिया दिदै शाहले प्रदेश सभाका सम्पूर्ण दलको विश्वास पाउने गरेर प्रयास गर्ने बताए । मुख्यमन्त्री शाहले जतिसक्यो चाँडै विश्वासको मत लिने पनि बताए ।

मेरो सम्पूर्ण ध्यान सुदूरपश्चिम प्रदेशको विकासका लागि केन्द्रीत हुने छ मुख्यमन्त्री शाहले संक्षिप्त प्रतिक्रिया दिदै भने ।
शाहले २०४४ मा नेपाल विद्यार्थी संघमा आवद्ध भएर राजनीतिक सुरु गरेका थिए । उनले २०४६ देखि २०५२ सम्म नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समिति सदस्य, महाधिवेशन प्रतिनिधि भएर काम गरे ।

२०५४ देखि २०६८ सम्म शाह केन्द्रीय खेलकुद विभाग सदस्य, केन्द्रीय कोषाध्यक्ष, केन्द्रीय सचिव र केन्द्रीय उपाध्यक्ष भएर नेपाल तरुण दलको राजनीति गरे ।

यसैगरी, २०५३ देखि हालसम्म उनी महाधिवेशन समिति सदस्य छन् । उनी २०७० मा कैलाली क्षेत्र नम्बर २ बाट दोस्रो संविधाव सभा सदस्यमा पराजित हुनु भएको थिए । यसैगरी, २०४६ र २०६२/६३ को जनआन्दोलनक्रममा शाहलाई चार महिनासम्म राजनीतिक बन्दी बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार