विहिबार १ बजे मुख्यमन्त्रीले विश्वासको मत परीक्षण हुने
धनगढी/ सुदूरपश्चिम प्रदेशसभा बैठक विहिबार दिउँसोसम्मका लागि स्थगित भएको छ।
मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठक बिहिबार दिउँसो १ बजे बस्ने गरेर स्थगित भएको हो।
प्रदेशसभाका सूचना अधिकारी युवराज जैशीका अनुसार बुधबार ११ बजे बोलाएको बैठक दिउँसो १ बजेका लागि सारिएको थियो।
तर विशेष कारण देखाउँदै प्रदेशसभाको प्रथम अभिवेशनको सातौं बैठक स्थगित गरिएको हो।
जैशीले सभामुखको आदेशानुसार बिहीबार १ बजे प्रदेशसभा बैठक बस्ने पनि जानकारी दिए।
आजको बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेश गर्ने कार्यसूची थियो।
मुख्यमन्त्री रावलले विश्वासको मत नपाउने अवस्था देखिएपछि प्रदेशसभा बैठक स्थगित भएको हो।
संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका रावलले बिहीबारसम्म विश्वासको मत नलिए स्वतः सरकार ढल्नेछ।
रावल पुस २७ गते नेकपा माओवादी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका थिए।
मुख्यमन्त्री रावललाई विहिबार नेकपा माओवादी केन्द्रका १०, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसदले विश्वासको मत दिए भने मात्र यो सरकारले निरन्तरता पाउँछ। उल्लेखित दलका २८ प्रदेश सभा सदस्य छन् । तर मुख्यमन्त्रीले विश्वासको मत पाउन २७ मत आवश्यकपर्छ ।
प्रतिपक्षमा नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका चार र स्वतन्त्र १ जना सांसद छन्।
सुदूरपश्चिम सरकार गठनमा मुख्यमन्त्री रावललाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले भने मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताएको छ।
नागरिक उन्मुक्ति पार्टीले संरक्षक रेशम चौधरीसहित टीकापुर घटनामा जेलमा रहेकाहरूलाई रिहाइ गर्नुपर्ने माग गरिरहेको छ।
नागरिक उन्मुक्ति पार्टीले आफूहरूका माग पूरा नभएसम्म सरकारमा नजाने पनि बताइरहेको छ।