कैलालीका सांसद अरुणकुमार चौधरी पक्राउ


धनगढी/ कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी बाँकेको कोहलपुर पक्राउ परेका छन् । उनी नौ वर्षदेखि अदालतको फरार सूचीमा रहेका थिए ।
ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले नौ वर्ष अघि फैसला गरेर छ महिना कैद सजाय गरेको थियो । भने उनी सहितका तीन जनालाई दमासाहीले ट्याक्टरमा क्षति पुगेको रकम ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो ।
फैसला कार्यान्वयनका लागि कैलाली प्रहरीले समेत उनलाई खोजी गरिरहेका थियो ।
फैसला बारे थाहा नपाएरै उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०७४ सालमा लम्कीचुहा नगरपालिकाको मेयर र पछि प्रदेश निर्वाचनमा पराजित भएका थिए । सांसद चौधरी गत मंसिरको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–२ बाट प्रतिनिधि सभा चुनाव जितेका थिए ।
कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो । ट्याक्टरधनी मोतिपुरका महादेव बजगाईँको आफ्नो ट्याक्टरमा आगो लगाइदिएको भनी बलिया गाविस–३ का पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरी गरी ३ जना विरुद्ध मुद्दा हाले ।
चालक साजन चौधरीले उनीहरुले नै आफूलाई लखेटेर ट्याक्टरमा आगो लगाएको बयान थिए ।
जिल्ला अदालतमा ‘आगजनी गरेको’ आरोपमा तत्कालीन मुलुकी ऐन बमोजिम मुद्दा परे पनि आरोपित सबैजना म्याद गुजारेर बसे र अदालतमा हाजिर हुन गएनन् । जिल्ला अदालतले ‘कसूर अपराधलाई स्वीकार गरी बसेको’ ठहर गर्यो र उनीहरुलाई मुलुकी ऐनको आगो लगाउनेको महल १ र ४ अनुसार कसूर गरेको ठहर गर्यो ।
दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी गत शुक्रबार पक्राउ परेपछि फरार रहेका अर्का व्यक्ति सांसद चौधरी भएको खुलेको छ ।
उनलाई पक्राउ गरेर कैलाली ल्याउन लागिएको प्रहरी उच्च स्रोतले बताएको छ ।
उनी पक्राउ परेको नागरिक उन्मुक्ती पाटीका केन्द्रीय सदस्य ठाकुरसिंह थारुले बताए ।




