२८ पुष २०८१, आईतवार

दलित वस्तीको नाम परिवर्तन गरिँदै




बैतडी/ बैतडीको पाटन नगरपालिकाका विभिन्न दलित वस्तीका अपहेलित नामहरु परिवर्तन गरिन थालेको छ । नगरपालिकाले अहिलेसम्म सात वटा दलित वस्तीको नाम परिवर्तन गरिसकेको छ ।

बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विभिन्न गाउँवस्तीका नामहरु अपमानजनक रहेका छन् । अझ दलित वस्तीहरुको नाम त झनै अपमानजनक रहेका छन् । दलित वस्तीहरुका अपमानजनक नामहरुबारे विभिन्न मिडियामा समाचार प्रकाशन, प्रसारण हुँदै आएका छन् ।

बैतडीमा जिल्ला प्रशासन कार्यालयको पहलमा गत असोजको पहिलो साता भएको गाउँवस्तीका छलफलमा अपमानजनक नामहरु परिवर्तन गर्ने निर्णय भएको थियो । सो निर्णय कार्यान्वयन गर्ने क्रममा केही स्थानीय तहले नाम परिवर्तन गर्न थालेका छन् । तर, अझैं पनि अधिकांशले नाम परिवर्तनका लागि पहल गरेका छैनन् ।

पाटन नगरपालिकाले गाउँवस्तीका अपमानजनक नाम परिवर्तन शुरु गरेको छ । नगरपालिकाका उपप्रमुख कमलसिंह बोहरा आफै दलित समुदायका वस्तीमा गएर पुराना अपमानजनक नामहरु परिवर्तन गर्ने अभियानमा रहेका छन् ।

उपप्रमुख बोहराका अनुसार असोजदेखि मंगलबारसम्म सात वटा दलित बस्तीका नाम परिवर्तन गरिएको छन् । उनले अहिलेको युगमा पनि दलित समुदायमाथि अपमान हुने खालका नामले निरन्तरता पाउनु निकै आपत्तिजनक भएको बताए । यो हाम्रो नगरपालिकाको नै अपमान हो । त्यसैले हामीले अपमानजनक नामहरु परिवर्तन गर्ने कार्यमा जुटेका छौं ।

उपप्रमुख बोहराका अनुसार नगरपालिका–५, पहिलेका नाम परिवर्तन गरेर सिर्जना टोल र रानीघाट वस्ती राखिएको छ । त्यसैगरि, वडा नम्बर ६ का दलित समुदायको बसोबास रहेका बस्तीका नाम फेरेर बयलबाटा, ढुंगेओखल, तिलगाउँ र खसरबाटा राखिएको छ । त्यस्तै, वडा नम्बर १ का दलित बस्तीका नाम परिवर्तन गरेर रामपुर–सकार राखिएको छ ।

नगरपालिकाले दलित समुदायका गाउँवस्तीमा सभा आयोजना गर्दै परिवर्तन भएका नामको साईनबोर्ड राखेको छ । अपमानजनक नाम फेर्ने अभियानसँगै जातीय विभेद र अपहेलनासम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि अघि बढाइएको छ ।
पाटन नगरपालिकाले कुनै पनि जाती, धर्म, संस्कृति, सम्प्रदायविशेषलाई होच्याउने खालका नामहरु सच्याएर सम्मानपूर्ण नामाकरण गर्ने उद्देश्य रहेको बताए ।

बुधबार पाटन नगरपालिका वडा १ को ल्वारभाँ टोलको नाम परिवर्तन गरिएको छ । सो टोलको नयाँ नाम ‘रामपुर सकार’ राखिएको छ ।

यसअघि वडा नम्बर ६ को भट्टाड टोलको नाम परिवर्तन गरी बयलबाटा राखिएको छ । भण्डारी गाउको नयाँ नाम खसरबाटा राखिएको छ भने भुल्यौडा टोलको नयाँ नाम ढुंगेओखल टोल राखिएको छ । भने औज्यौडा टोलको नयाँ नाम तीलगाउँ टोल कायम गरिएको छ ।

पाटन नगरपालिकाले सबै १० वडाका अपमानजनक नाम परिवर्तन गरिने बताएको छ । अबदेखि नगरपालिकाले ती टोलवस्तीमा पत्राचार गर्दा नयाँ नामबाट पत्राचार गरिने पनि नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार