पश्चिम सेती अघि बढाउन मुख्यमन्त्रीको नेपाल सरकारलाई आग्रह
धनगढी/ सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पश्चिम सेती र सेती ६ विद्युत परियोजना निर्माणमा आवश्यक सहयोग सहित साझेदारीका लागि प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
लगानी बोर्ड र भारतको एनएचपिसीबीच पश्चिम सेती र सेती ६ परियोजना निर्माणका लागि गत भदौमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । मुख्यमन्त्री रावलले बुधबार प्रेस विज्ञप्ति सार्वजनिक गरी विघुत आयोजनाको विकास, समन्वय र साझेदारीका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको सार्वजनिक गरेका हुन् ।
मुख्यमन्त्री रावलले दुई जल विद्युत परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएकोमा खुसी व्यक्त गर्दै आयोजना निर्माणपछि सुदूरपश्चिम प्रदेश आर्थिक र सामाजिक विकासको मूल प्रवाहमा आउने विश्वास व्यक्त गरेका छन् । उनले विद्युत निर्यात गरी मुलुकको व्यापार घाटा न्यूनीकरण गर्न सकिने पनि मुख्यमन्त्री रावलको विज्ञप्तिमा विश्वास लिइएको छ ।
मुख्यमन्त्री रावलले परियोजना निर्माणका लागि सबै पक्षबाट सहयोगको अपेक्षा राखिएको उल्लेख गर्दै केही पक्षबाट परियोजनालाई असर पर्ने गर्ने गरेर व्यक्त विचार र कार्यप्रति प्रदेश सरकारको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘सुदूरपश्चिम प्रदेशका नागरिक र मुलुकको समृद्धिसंग जोडिएको यस महत्वपूर्ण परियोजना कार्यान्वयनमा आ–आफ्नो क्षेत्रबाट सहयोगका लागि हार्दिक अपिल गर्दछु विज्ञप्तिमा उल्लेख गरिएको छ साथै समझदारी पत्र अनुसार परियोजना विकास र सिघ्र कार्यान्वयनका लागि नेपाल सरकारसंग हार्दिक अनुरोध गर्दछु ।