भारतको महाराष्ट्रमा नेपालीले गरे आफ्नै साथीको विभत्स हत्या
धनगढी/ भारतको महाराष्ट्रको आलिबागमा बस्ने लम्कीचुहा नगरपालिका‐६ बावनपुर घर भएका १८ वर्षीय कमल विकको बावनपुरमै बस्ने उनकै साथीहरु मिलेर हत्या गरिएको छ ।
मृतककी आमा पार्वतीका अनुसार पुस २६ गते विभत्स तरिकाले आफ्नो छोराको हत्या गरिएको हो ।
लम्कीचुँहाको बावनपुरमा घरभई महाराष्ट्रको आलिबागमा बस्ने सागर विक, टोपु विक, मनोज विक र सन्तोष बादीले आफ्ना छोराको हत्या गरेको आरोप आमा पार्वतीले लगाइन ।
कमलको हत्यामा संलग्नका नाममा किटानी जाहेरी सहित माघ १ गते भारतको महाराष्ट्र राईगढ जिल्ला आलिबाग ठाना प्रहरीमा उजुरी दिएको आमा पार्वतीले बताइन ।
हत्यामा संलग्नताको आरोप लागेका टोपु विक र मनोज विक दुई जना सहोदर दाजुभाई हुन । छोराको हत्या भएको खबर सुनेपछि कैलालीबाट महाराष्ट्र पुगेकी मृतककी आमा पार्वतीले प्रहरीमा जाहेरी दिएकी हुन ।
छोरासंगै होटेलमा काम गर्ने नातामा मामा पर्ने सागर विकले छोराको हत्या भएको जानकारी दिएपछि हामीले थाहा पायौं मृतकका आमा पार्वतीले भनिन ।
केही समयपछि सामाजिक संजालमा छोराको फोटा र भिडियो पनि बाहिरिएको थियो । फोटा र भिडियोमा पनि प्रष्ट रुपमा हत्या गरेको देखिन्छ । नेपाल घरमा फोन गरेर हत्या भएको जानकारी दिने सागर विक नै हत्यामा संलग्न रहेको बताएको छ ।
मृतककी आमा पार्वतीले भनिन, जुनदिन रातीको समयमा हत्या भयो त्यहीदिन दिउँसो घरमा छोराले फोन गरेको थियो । आफू सन्चै रहेको र तलब आएपछि पैसा पठाइ दिन्छु भनेको थियो । अर्को दिन त छोराको हत्या भएको खबर सुनियो । एउटा मात्र छोराको विभत्स तरिकाले हत्या गरेकोले दोषीलाई कारबाही गरेर न्याय दिलाई दिन उनले नेपाल सरकारसंग अनुरोध गरेकी छन् ।
हत्या भएको भनिएको दिन सबै केटाहरु छोरा कमलकै कोठामा बसेका रहेछन् । एकआपसमा संगै खानपिन गरेको र विवाद पनि भएको भन्ने सुनिएको छ । तर रातीको समयमा उसका साथीहरुले नै हत्या गरेर फरार भएको घटनाले देखाएको छ । एकवर्ष अघि काम गर्न भनेर सिमला पहाड गएको भाई आलिबाग गएको करिब दुई महिनापछि हत्या भएको दिदी सपना विकले बताइन ।
आफूले छोराको शव राम्ररी हेरेको र बीभत्स तरिकाले हत्या गरेको अवस्थामा शव भेटिएको पार्वतीले महाराष्ट्रबाट बताइन । शरीर पुरै चिरिएको र शरीरमा मुक्का हानेको निशानहरु देखिन्थे ।
ठाउँठाउँमा शरीरमा रगत र जताततै निलडाम देखिन्थ्यो । शरीरको माथिल्लो भागको कपडा निकालेर खुट्टा उल्टा पारेर मुख र घाँटी च्यापेर, सेतो कपडाको रसीले घाँटी कसेर हत्या गरेको शव नजिकबाट देखेका एकजनाले बताए । घाँटीमा गहिरो घाउँ पनि देखिन्थ्यो ।
हत्या गरिसके पछि आफै आत्महत्या गरेको हो भन्ने देखाउनका लागि कोठाको पंखाको एउटा पातामा डोरी बाँधिएको थियो । जसबाट आत्महत्या गर्न सम्भव छैन् । हत्या र गरेर कोठाबाट बाहिर निस्केर फरार हुनेबेलामा उनीहरुले ढोका आफै बन्द गरेको प्रष्ट देखिन्छ । त्यो ढोकामा इन्टर लक भएकोले हत्या गर्नेहरुले नै ढोका बन्द गरेको बुझिन्छ ।
प्रहरी घटनास्थलमा पुग्दा ढोकाको इन्टरलक तोडेको र ढोका बाहिर ताला लागेको भिडियोबाट देख्न सकिन्छ । शव उल्टो अवस्थामा दुबै खुट्टा खुम्चेको थियो । शरीरमा जताततै निलडाम हुनाले पनि हत्या भएको प्रष्ट भएको र कमलकै कोठामा बसेका साथीहरुले नै हत्या गरेको बुझिएकोले उनीहरुको नाममा जाहेरी दिएको आमा पार्वती विकले बताइन ।
न्यायको लागि भारतमा सजिलो अवस्था नेपालीका लागि रहेन छ । दोषीलाई पक्राउ गरेर कारबाही गर्न र पीडित म एकल महिला र मेरो छोराको न्यायको लागि सहयोग गरिदिन भारतमा रहेका नेपाली दाजुभाई, संघसंगठन, भारत सरकार र नेपाल सरकारसंग अनुरोध गर्दछु ।