सुदूरपश्चिम प्रदेशले दोस्रो निर्वाचनबाट पनि सभामुख पाएन
धनगढी / सुदूरपश्चिम प्रदेश सभाले दोस्रो पटकको चुनावबाट पनि शनिबार सभामुख पाउन सकेन ।
सत्ता पक्षमै रहेको नागरिक उन्मुक्ती पार्टी तटस्थ बसेपछि सभामुख नछानिएको हो । सत्तारुढ पक्षका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का भीमबहादुर भण्डारी र प्रतिपक्षी दल नेपाली कांग्रेसका मानबहादुर रावलले २२/२२ मत पाउनुभयो ।
सभामुख छानिन ५३ सदस्यीय प्रदेश सभाको ५१ प्रतिशत अर्थात २७ मत आवश्यक हुन्छ ।
सत्ता पक्ष नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले) का १०, नागरिक उन्मुक्तीका सात र राप्रपाका एक मत छन् । उन्मुक्तीले भोट नहालेपछि सत्तापक्षका भण्डारीले २२ मत मात्र पाए ।
यस्तै गरेर प्रतिपक्षका उम्मेदवार रावलले २२ मत पाए । प्रतिपक्षमा कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी) का चार र स्वतन्त्र एक गरेर २४ मत थियो । तर सभामुखको भूमिकामा रहेकाले शिवराज भट्टले मतदान गर्न पाउनु भएन भने कांग्रेसका सरस्वती खड्का अनुपस्थित रहे ।
चुनाव हुनु अघि प्रदेश सभाको विशेष समयमा बोल्दै नागरिक उन्मुक्तिका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले कुनै पक्षलाई मतदान नगर्ने बताएका थिए ।
हामीलाई हाम्रो महान चाड तथा नयाँ वर्ष माघीको उपहारका रुपमा सरकारले राजवन्दीलाई रिहा गर्ने भनेको थियो । तर रिहा गरिएन, हामीले मुख्यमन्त्रीलाई मात्र सहमति दिएका थियौ तर दुई मन्त्री सल्लाह विना बनाइयो त्यसैले कसैको पक्षमा मतदान गर्देनौ उनले भनेका थिए ।
सभामुखको अर्को निर्वाचन तेस्रो पटक माघ २ गते विहान ९ बजे हुने भएको छ ।
यसअघि पुस २८ गते भएको निर्वाचनमा पनि ५१ प्रतिशत अर्थात २७ जना सदस्यको नपुगेपछि सभामुख छानिएको थिएन । सो निर्वाचनमा माओवादीका भण्डारीले २६ र कांग्रेसका रावलले २३ मत पाएका थिए।
सो निर्वाचनमा एमालेका चक्र मल्ल र नागरिक उन्मुक्तीका लक्ष्मणकिशोर चौधरी अनुपस्थित भएका थिए भने सत्तापक्षकै एक मत बदर भएको थियो ।