न्याधिवक्ताको सुझावपछि आजै सुदूरपश्चिमको सभामुख छानिने सम्भावना
धनगढी/ सुदूरपश्चिम प्रदेश सभाको सभामुख आज छानिने सम्भावना बढेको छ । अहिलेकै प्रक्रियालाई नियमित गरेर छान्न सुदूरपश्चिम प्रदेशको न्याधिवक्ता कार्यालयले राय दिएपछि सभामुख छानिने सम्भावना बढेको हो।
सभामुख छान्न आवश्यक संख्या २७ नपुगेपछि अव कसरी सभामुख छान्ने भन्ने अन्योलता रहेका बेला प्रदेशको न्यायधिवक्ताको कार्यालयले नियमित प्रक्रियाबाटै सभामुख छान्ने राय दिएको छ ।
सभामुख नछानिएपछि एउटा पक्षले पूरै नयाँ प्रक्रियाबाट जानु पर्ने र अर्को पक्षले पुरानै प्रक्रियाबाट जानुपर्छ भनेपछि प्रदेश सभाले न्यायधिवक्ताको कार्यालयसंग सुझाव मागेको थियो ।
न्यायधिवक्ता कुलानन्द उपाध्यायले प्रदेश सभाले शुक्रबार सुझाव मागेको पत्रको जवाफ शुक्रबार दिउँसो नै पठाएको बताए ।
न्यायधिवक्ताको कार्यालयले नेपालको संविधानको धारा १८२ र सुदूरपश्चिम प्रदेश सभा नियमावली २०७४ अनुसार सभामुखको निर्वाचनको प्रक्रिया नियमितरुपमा अगाडि बढाउने राय दिएको छ ।
सभाखुम भूमिकामा रहेका शिवराज भट्टले शनिबार दिउँसो ११ बजे सर्वदलिय बैठक बसेर आवश्यक प्रक्रिया अगाडि बढाउने बताए ।
पुस २८ गते साँझ भएको सभामुखको निर्वाचनमा भएको थियो । सो निर्वाचनमा ५३ सदस्यीय प्रदेश सभाको ५१ प्रतिशत अर्थात २७ जनाको मत पाएर सभामुख छानिन नसकेपछि अन्योलता सृजना भएको थियो ।
सो निर्वाचनमा सत्तापक्षका उम्मेदवार भीमबहादुर भण्डारीले २६ र प्रतिपक्षका मानबहादुर रावलले २३ मत पाएका थिए । निर्वाचनमा सत्ता पक्षको एक मत बदर भएको थियो । यस्तै गरेर सत्तापक्षकै नेकपा (एमाले) का चक्रबहादुर मल्ल र नागरिक उन्मुक्ती पार्टीका लक्ष्मणकिशोर चौधरी मतदानमा सहभागी भएनन् । यस्तै सभामुखको भूमिकामा रहेकोले प्रतिपक्षका शिवराज भट्ले मतदान गर्न पाएनन् ।
प्रदेश सभामा सत्तापक्षका दल नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले) का १०, नागरिक उन्मुक्तीका सात र राप्रपाका १ गरेर २९ जना प्रदेश सभा सदस्य हुनुहुन्छ । यो संख्या सभामुख छान्नलाई आवश्यक पर्ने भन्दा दुई बढी हो ।
यस्तै प्रतिपक्षमा नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी) का चार र स्वतन्त्र एक गरेर २४ जना छन् ।