८ पुष २०८१, सोमबार

२९ जना सदस्यद्धारा सुदूरपश्चिम प्रदेश सभाको बैठक बोलाउन माग



धनगढी / सुदूरपश्चिम प्रदेश सभाका बहुमत सदस्य अर्थात २९ जनाले तत्काल प्रदेश सभाको बैठक आह्वान गर्न माग गरेका छन् ।

शुक्रबार साँझ प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीलाई ध्यानाकर्षण पत्र बुझाउँदै बहुमत प्रदेश सभा सदस्यहरूले संसद् बैठक आह्वान गर्न माग गरे । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशका २९ जना प्रदेश सभा सदस्यहरूको हस्ताक्षर सहित प्रदेश सभा सचिवालयमा ध्यानाकर्षण पत्र दर्ता गरिएको हो ।

आज बिहान ११ बजे बैठक बस्ने भन्दै विहीबार साँझ स्थगित गरिएको बैठक शुक्रबार दिनभर सञ्चालन हुन सकेन । बरु अनिश्चितकालका लागि भन्दै शुक्रबार दिउँसो सूचना टाँस गरिएको थियो । ज्येष्ठ सदस्य शिवराज भट्ट अनिश्चित समयसम्मका लागि बैठक स्थगित गरेर सम्पर्क विहीन भएपछि सत्तारुढ दलका २९ जनाले तत्काल बैठक बोलाउन आह्वान गरेका छन् ।

ध्यानाकर्षण पत्रमा माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका एक सांसदले हस्ताक्षर गरेका छन् ।
विहीबार साँझ भएको सभामुखको निर्वाचनबाट सभामुख छानिन सकेन ।

सभामुखका पदमा नेकपा (माओवादी केन्द्र) का भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् । भण्डारीले एक मत कम अर्थात ५३ जनाको ५१ प्रतिशत २७ मत पाउन नसक्दा सभामुख हुन सकेनन् । भण्डारीले २६ मत पाएका थिए । कांग्रेसका रावलले भने २३ मत पाएका थिए ।

सो मतदानमा एक मत बदर भयो भने एमालेका चक्र मल्ल र नागरिक उन्मुक्तीका लक्ष्मणकिशोर चौधरी मतदानमा सहभागी भएनन् । सभामुखको भूमिकामा भएकोले शिवराज भट्टले पनि मतदान गरेनन् ।

सभामुखको भूमिकामा रहेका भट्टले शनिबार बैठक बोलाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार