७ पुष २०८१, आईतवार

को हुन मुख्यमन्त्री रावल




धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री नियुक्त हुनु भएका ५८ वर्षीय रावलको व्यक्तित्व वहुआयामिक छ । उनी राजनीतिमा मात्र होइन पत्रकारिता, समाजसेवा र साहित्य क्षेत्रमा पनि काम गरेका छन् ।

२०२१ जेठ १६ बैतडीको दशरथचन्द नगरपालिका–५ मारकण्ड गाउँमा जन्मेका रावलले स्नातकसम्मको अध्ययन पूरा गरेका छन् । रावलले भारतको मेघालयको सिलड, मध्यप्रदेशको जवलपुर र उत्तराखण्डको पिथौरागढका केन्द्रीय विद्यालयहरुमा आधारभूत तहको अध्ययन गरेका छन् ।

उनले एसएलसी भने बैतडीस्थित वीरेन्द्र माध्यमिक विद्यालय शाहीलेकबाट गरेका हुन । इन्टर भारतको ड्रमाण्ड इन्टर कलेज पिलिभित, उत्तरप्रदेश र स्नातक सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरबाट गरेका छन् ।

रावललाई नेपाली, अंग्रेजी, हिन्दी, डोटेली, कुमाउनी, थारु लगायतको भाषाको ज्ञान छ । उनको मध्यकालीन डोटीको ईतिहास (साके १२३५–१७१२), द इकोज पावर अफ प्यासन (कविता संग्रह) कृति प्रकाशित भएको छ ।

यसैगरी, चुरे संरक्षण आवाज बुलेटिनमा सम्पादकको रुपमा काम गरेका छन् ।

रावलको राजनीतिक यात्रा २०३६ सालको जनमत संग्रहको आन्दोलनबाट सुरु भएको थियो । उनी, २०३९ सालमा अनेरास्ववियुमा आवद्ध भएका थिए । विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेका उनले २०५१ मा नेकपा (एमाले) को जिल्ला संगठन विभाग प्रमुख र गाउँ जागरण अभियानको उत्प्रेरक भई महाकाली अञ्चलका चारै जिल्लामा अभियान सञ्चालन गरेका छन् ।

उनी २०५४ देखि ०५९ सालसम्म जिल्ला विकास समिति कञ्चनपुरको उपसभापति रहे । २०५४ सालमा नेकपा एमाले कञ्चनपुरको पार्टी उपसचिव हुनु भए । २०६२÷६३ को जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेले ।

२०६२ मा नेकपा (एमाले) को महाकाली अञ्चल समन्वय कमिटीको सचिव हुनु भएका रावल २०७५ जेठ ३ देखि ०७७ चैत ३१ गतेसम्म नेकपा केन्द्रीय कमिटी सदस्य रहे । २०७८ सालमा केन्द्रीय सदस्य र प्रदेश कमिटी सचिव तथा डडेल्धुरा जिल्ला इन्चार्जको भूमिका निर्वाह गरेका रावल हाल नेकपा एमाले पोलिट्व्युरो सदस्य तथा सुदूरपश्चिम सह–इन्चार्ज छन् ।

उनले सन २००१ मा भारतको मुम्बईमा विश्व समाजवादी सम्मेलन (डब्लुएसएफ), हैदरावादमा भएको एसिया समाजवादी सम्मेलन (एएसएफ)मा सहभागिता जनाएका थिए । यसैगरी उनले ब्राजिल र चीनको भ्रमण गरेका छन् ।

रावलले सुदूरपश्चिम विश्वविद्यालय स्थापनार्थ आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुका साथै विश्व विद्यालयको संस्थापक सदस्य पनि हुन ।

उनले महाकाली अञ्चल अस्पताल सञ्चालक समिति अध्यक्ष, सिद्धनाथ बहुमुखी क्याम्पस, सिद्धनाथ विज्ञान क्याम्पस र शारदा विद्या पीठको सञ्चालक समिति सदस्य भएर काम गरेका छन् । यसैगरी, उनी नेपाल रेडक्रस सोसाइटीको आजिवन सदस्य, महाकाली साहित्य समाजको वरिष्ठ उपाध्यक्ष पनि हुन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार