खगराजलाई माओवादीको नेतृत्व गरेर सरकारमा जान दबाब
धनगढी/ नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम इन्चार्ज तथा सो दलका प्रदेश सभाका संसदीय दलका नेता खगराज भट्टलाई सरकारमा जान दबाब परेको छ ।
एमालेका पोलिटब्युरो सदस्य तथा संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री भएमा सरकारमा जानु पर्ने सुझाव नेता कार्यकर्ताको रहेको छ ।
नेता भट्टले आफूलाई मन्त्री बनाउने कुरा पार्टीले निर्णय गरेपछि सोच्ने बताए । शीर्ष तहमा छलफल जारी छ, छलफलले के गर्छ त्यसपछि केही भन्न सकिएला उनले बताए ।
माओवादी स्रोतका अनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले भट्टलाई बोलाएरै माओवादीको नेतृत्व गरेर सरकारमा जान आग्रह गरेका छन् । यद्यपि प्रचण्डको भनाइ बारे नेता भट्टले स्पष्ट बताएनन् ।
दलका नेता भट्टलाई काम पनि गर्न सहज हुने भन्दै भौतिक पूर्वाधार मन्त्रालय समेतको जिम्मेवारी लिएर जानु पर्ने सुझाव नेता र कार्यकर्ताले दिन थालेको बताइएको छ ।