एमाले कैलालीले अन्तरघाती खोज्दै
धनगढी/ गत चुनावमा कैलालीका प्रतिनिधि सभाका पाँच र प्रदेश सभाका १० गरेर १५ वटै क्षेत्र गुमाएको नेकपा (एमाले) ले हारका कारण खोज्ने भएको छ ।
धनगढीमा दुई दिनसम्म बसेको सो पार्टीको कैलाली जिल्ला कमिटीको छैटौ पूर्ण बैठकले मङ्सिर ४ को चुनावबारे समीक्षा गरेको छ ।
समीक्षा बैठकले हारका पाँच कारण रहेको ठोकुवा गरेको छ । जसअनुसार पार्टी भित्रको अन्तर्घात, गठबन्धनको प्रभाव, पार्टी विभाजनको प्रभाव, जातीय क्षेत्रीय भड्कावलाई चिर्न नसक्नु र पार्टीको संरचनालाई व्यवस्थित गर्न नसक्नु हारका मुख्य कारण रहेको हुन एक जिल्ला कमिटी सदस्यले बैठकको निस्कर्ष सुनाए ।
उनका अनुसार एमालेले हारका कारण मसिनो गरेर पत्ता लगाउन उपसचिव ममताप्रसाद चौधरीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाएको छ ।
पाँचवटै निर्वाचन क्षेत्र समेटेर बनाइएको सो कार्य दलमा श्याम खत्री, धनञ्जय न्यौपाने, हितेश ओझा र वीरबहादुर साउँद रहेका छन् ।
कार्यदलले समिक्षा बैठकमा उठेका विषयहरूलाई थप छानबिन गरेर प्रतिवेदन तयार पारेर जिल्ला कमिटीलाई बुझाउने बताइएको छ । सो प्रतिवेदनका आधारमा जिल्ला कमिटीले थप कदम चाल्ने जिल्ला कमिटीका सचिव डेजी पाण्डेयले बताए ।