२९ पुष २०८१, सोमबार

पत्रकार महासंघ, कैलालीको साधारण सभा : पूर्वाग्रहपूर्ण प्रस्तुतिले समाजमा विग्रह बढाउँछ– मुख्यमन्त्री




धनगढी/ नेपाल पत्रकार महासंघ, कैलालीको १२ औं साधारण सभा शनिबार धनगढीमा भएको छ । साधारण सभाको एक समारोहबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे ।

सो अवसरमा मुख्यमन्त्री भट्टले पूर्वाग्रहपूर्ण प्रस्तुति र भूमिकाले समाजमा विग्रह मात्रै बढाउँछ भन्नेमा मिडियालाई सजग हुन आग्रह गरे ।

उनले सूचना प्रविधिमा आएको उल्लेख्य विकासका कारण मूलधारको पत्रकारितामाथि चुनौति थपिएको चर्चा गरे । भने– अहिले कुनै घटनामा मूलधारको मिडियाभन्दा अगाडि नै अरु माध्यम (सामाजिक सञ्जाल) मा खबर आउने गरेको छ । यसले गर्दा कतिपय प्रसंगमा घटनाको तथ्य नै तोडमरोड हुनसक्ने सम्भावना रहन्छ ।

मुख्यमन्त्री भट्टले स्थानीय र प्रादेशिक विकासका मुद्दाहरूलाई राष्ट्रिय स्तरमा स्थापित गर्नेतर्फ बढि ध्यान दिन आग्रह गरे ।

हाम्रो प्रदेशमा किन राष्ट्रिय गौरवका विकास आयोजना छैनन् ? भन्नेमा यो क्षेत्रको मिडिया बढी मुखर हुन आवश्यक छ” उनले राजनीतिक व्यवस्था परिवर्तन भए पनि कर्मचारीतन्त्र र कार्यशैलीमा तात्वीक परिवर्तन आउन नसकेका कारण सरकारहरूले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताए । उनले आफ्नो पाँच बर्से कार्यकालमा संघीय सरकारले प्रदेश प्रहरी र निजामति जस्ता महत्वपूर्ण कानुन नबनाएका कारण प्रदेश सरकारलाई काम गर्न कठिनाई भएको चर्चा गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव हेमकर्ण विक, केन्द्रीय सदस्यद्वय भरत शाह र उत्तर बिष्ट, महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावल, कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशी, महासंघका पूर्व केन्द्रीय उपसभापति चित्राङ्ग थापा, कैलाली उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा, महासंघ कैलालीका निवर्तमान अध्यक्ष जगत साउद, प्रेस चौतारीका प्रदेश महासचिव शिवराज भट्ट, प्रेस युनियन लम्कीका अध्यक्ष देवानन्द न्यौपाने, प्रेस सेन्टरका जिल्ला अध्यक्ष तेज भट्ट, क्रियाशील महिला पत्रकारका जिल्ला अध्यक्ष अमिता कुँवर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारण सभा उद्घाटन कार्यक्रम महासं कैलालीका अध्यक्ष हिमालय जोशीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा जिल्ला उपाध्यक्ष हरिश विकले स्वागत गरेका थिए भने कार्यक्रमको जिल्ला सचिव प्रेम चौधरीले सञ्चालन गरेका थिए ।

साधारण सभामा महासंघका सचिव चौधरीले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मीप्रसाद जैशीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन छलफलपछि पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार