पासोमा परेर मृत्यु भएको चितुवाको पेटमा भेटिए दुई वटा डमरु !
बैतडी/ जङ्गली बँदेलका लागि मकै बारीमा थापेको पासोमा परेर मृत्यु भएको पोथी चितुवा गर्भवती रहेको पुष्टी भएको छ ।
बैतडी सदरमुकाम नजिकै दशरथचन्द नगरपालिका–४, बिनासौं गाउँमा मङ्गलबार विहान पासोमा फसेको अवस्थामा चितुवा भेटिएको थियो ।
पासोमा परेको चितुवाको जिबितै उद्धार गर्ने प्रयास गरिए पनि फलामे तारको पासोले चितुवाको पेटमा गम्भीर घाउ बनाएको थियो । पासोबाट उम्कने प्रयास गर्दा गर्भवति चितुवाको पेट र कम्मरमा गहिरो घाउ भएर अत्याधिक रक्तश्राब हुँदा चितुवाको मृत्यु भएको वन कार्यालयले जनाएको छ ।
सुरक्षाकर्मीको सहयोगमा पासोमा परेको चितुवालाई निकालेर फलामको पिँजडामा राखेको केही बेरमै मङ्गलबार दिउँसो १ः०० बजे चितुवाको मृत्यु भएको डिभिजन वन कार्यालय बैतडीका अधिकृत श्यामसुन्दर माझीले बताए ।
डिभिजन वन कार्यालयले मृत चितुवालाई खाल्डोमा गाड्नु अघि पोष्टमार्टम गर्दा मृत चितुवाको पेटमा दुई वटा डमरु भेटिएका छन् । पशु चिकित्सकका अनुसार गर्भभित्रै मृत्यु भएका दुई वटा डमरु शारीरिक रुपमा पूर्ण विकसित भएको पाइएको छ ।
उनले भने ,“ मकै बारीमा बँदेलका लागि थापेको पासोमा चितुवाको पछाडितर्फको भाग फसेको छ । चितुवा जिबित नै छ । घटनास्थलमा मान्छेको भीड बढेन थालेपछि चितुवा आत्तिन थालेकाले घटनास्थलमा कसैलाई पनि जान दिइएको छैन ।
मान्छेको भीड जम्मा भएर फोटो खिच्न नदिन सशस्त्र प्रहरी र नेपाल प्रहरीले पहरा दिईरहेको छ । चितुवालाई डार्टिङ ( बेहोस) गरेर उद्धार गर्न वर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोली आउँदै छ । साँझसम्म उद्धार हुन्छ ।”
पासोमा परेर बैतडीमा १२ चितुवासहित दुई वटा डमरु मरे
पासोमा परेर बैतडीमा योसहित २०७४ साल यता पासोमा परेर १२ वटा चितुवा र दुई वटा डमरुको मृत्यु भएको डिभिजन वन कार्यालय बैतडीले जानकारी दिएको छ । डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलका अनुसार बैतडीमा चितुवाको आक्रमणमा परेर २७ जना मानिसको पनि मृत्यु भइसकेको छ ।
उनले भने ,“ बैतडीमा मानव र वन्यजन्तुबीच द्वन्द्व चलिरहेको छ । पासो थापेर मान्छेले बँदेलको शिकार गर्न थालेपछि चितुवाले मान्छे खान थालेको डरलाग्दो क्रम बढेको छ । डिभिजन वन कार्यलयसँग मानव–वन्यजन्तुको द्वन्द्व घटाउने विषयमा कुनै कार्यक्रम छैन ।”
पासोमा परेको चितुवाको उद्धार गर्न पनि बर्दिया र चितवनलाई गुहार्नु पर्ने अवस्था रहेको डिभिजन वन कार्यालय बैतडीले जानकारी दिएको छ ।