कुलदीपका हत्यारा पत्ता लगाउनेहरु सम्मानित

धनगढी / भारतीय नागरिक कुलदीप गुप्ता हत्या प्रकरणको उत्कृष्ट अनुसन्धान गर्ने प्रहरी सम्मानित भएका छन् । आइतबार राति धनगढीमा भएकोे हत्या प्रकरणको उत्कृष्ट अनुसन्धान गर्ने ४ प्रहरी सम्मानित भएका हुन् ।
सम्मानित हुनेमा प्रहरी नायब निरीक्षक शुशिल चन्द, प्रहरी सहायक निरीक्षक मोहन रावल, प्रहरी जवान लक्षि लुहार र प्रहरी जवान महेशबहादुर चन्द रहेका छन् ।
चारैजना प्रहरीलाई नगदसहित सम्मान पत्र उपलब्ध गराएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।
सोमबार धनगढीको वडा नम्बर ५ शिवनगर–जाई जोड्ने सडक छेउको नालीमा भारतको उत्तरप्रदेशस्थित शाहजापुराका अन्दाजी ४० वर्षीय गुप्ताको शव फेला परेको थियो ।
बाटो हिँड्ने एक युवतीले सोमबार बिहान पौने १० बजेतिर युवकको शव देखेपछि प्रहरीलाई खबर गरेपछि कैलालीका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशी सहितको टोली घटना स्थल पुगेको थियो ।
कैलाली प्रहरीका प्रमुख तथा प्रहरी उपरीक्षक एसपी विश्व अधिकारीका अनुसार हत्याको आरोपमा बाजुराको खप्तड छेडदहका राजेन्द्र बुढा र भुपेन्द्र बुढालाई पक्राउ गरिएको छ ।
उनीहरु दुबैले मिलेर भारतीय नागरिक कुलदीप गुप्ताको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको एसपी अधिकारीले बताए ।





