एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण


धनगढी / नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम आइतबारदेखि धनगढीमा सुरु भएको छ ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर एमालेले प्रदेश स्तरीय प्रशिक्षणको आयोजना गरेको हो । प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डेले तीनै तहको चुनावमा एमाले पहिले हुने बताए । गठवन्धनसहित चुनाव भए हामीले अलि धेरै मेहनत गर्नुपर्छ उनको भनाइ छ ।

उनले एमाले विभाजनको असर कही नपरेको बताउदै ०५४ विभाजनपछि पनि एमाले उठेको हो त्यो भन्दा निक्कै राम्रो अवस्था अहिले रहेको बताए । पार्टी जित्नुपर्छ हामी सबैको एक तह हैसियत त्यसै बढ्छ उनको भनाइ थियो ।
यसअघि आइतबार भएको पत्रकार सम्मेलनमा पनि नेता पाण्डेले एमाले एक्लै चुनावमा जाने बताएका थिए ।

दुई दिनसम्म चल्ने प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा उपाध्यक्ष पाण्डेयसहित उपमहासचिव प्रदीप ज्ञवाली, सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, सहइन्चार्ज कर्णबहादुर थापा लगायतका नेताहरुले प्रशिक्षण दिइ रहेका छन् ।
शुभश्री प्यालेसमा भइरहेको प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारीहरु, सो पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुको सहभागिता रहेको छ ।
एमालेको केन्द्रीय स्कुल विभाग, स्थानीय तह विभाग र निर्वाचन विभागको संयुक्त आयोजना तथा सुदूरपश्चिम प्रदेश कमिटीको व्यवस्थापनमा प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो ।




