लम्कीमा आखा उपचार केन्द्र स्थापना
धनगढी/ कैलालीको लम्की चुहा नगरपालिकामा गेटा आँखा अस्पतालको १८ औं शाखाको रुपमा आँखा उपचार केन्द्र लम्की स्थापना गरिएको छ ।
प्रदेशको सबै क्षेत्रमा आँखा उपचार सेवाको पहुँच विस्तार गर्ने कार्ययोजना अनुसार नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालद्वारा सेभा नेपालको सहयोगमा लम्की चुहा नगरपालिका र मोहन्याल गाउँपालिकाका आँखाका रोगीहरूलाई नियमित आँखा उपचार सेवा प्रदान गर्ने उद्देश्यसहित केन्द्र स्थापना गरिएको हो ।
लम्कीको गणेशपुर चोकमा सोमबार सो उपचार केन्द्र स्थापना गरि उपचार सेवा संचालन ल्याइएको जनाइएको छ ।
सो उपचार केन्द्रमा अत्याधुनिक उपकरणहरूको प्रयोग गरि आँखा परिक्षण, औषधि उपचारको साथै सामान्य शल्यक्रिया र समुदायमा आँखा उपचार तथा जनचेतना जगाउने कार्यक्रम समेत संचालन गरिने अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले जानकारी दिए ।
आँखाको जटिल समस्या भएका बिरामीहरूलाई आँखा परिक्षण गरिने उपकरणमा नै जडित क्यामराको मद्दतले टेलिमेडिसिनको प्रयोग गरि आँखा अस्पतालका नेत्र विशेषज्ञबाट आँखा परिक्षण र आवस्यक परामर्श गरि उपचार सेवा समेत प्रदान गरिने उनले बताए ।
कोरोनाको संक्रमणको जोखिमको कारणले गेटा आँखा अस्पताल तथा आँखा उपचार केन्द्र टीकापुरबाट आँखा उपचार सेवा लिनबाट बिगत लामो समयदेखि बन्चित भइरहेकोमा उपचार सेवा केन्द्र संचालनमा आएकासंगै आँखाका रोगीहरू लाभान्वित हुने उनले बताए ।