वर्षेनी पोल ढल्दै, गाउँमा विद्युत सेवा अभाव

बैतडी / वर्षेनी विद्युतका पोल ढल्दै गएपछि बैतडीको सिगास गाउपालिका, च्वागढका बासिन्दाहरू अझैं पनि विद्युत सेवाबाट बञ्चित भएका छन् ।
सिगास च्वागढमा विद्युत सेवा विस्तार गर्न निकै लागनी भइसकेको छ । सिमास गाउपालिका वडा नम्बर १ का अध्यक्ष गगनसिंह धामीका अनुसार विद्युत विस्तार गर्न गाउपालिकाले मात्र एक करोड बढी रुपैया लागनी गरिसकेको छ ।
वडाध्यक्ष धामीले भने– सिगास गाउँपालिकाको वडा नम्बर १ र २ सहित गाउँपालिका केन्द्रसम्म विद्युत सेवा विस्तार गर्न तीन आर्थिक वर्षमा एक करोड रुपैया बढी खर्च भइसकेको छ ।
निर्माण समितिले गाडेका विजुलीका पोल हरेक वर्ष ढलिरहेका छन् । तार चुडिएका छन् । उनका अनुसार निर्माण समितिमा राजनीतिक दलहरूका कार्यकर्ता नै अध्यक्ष रहने गरेका छन् ।
गाउपालिका अध्यक्ष हरिसिंह धामीले गाउँपालिकाले विद्युतिकरणका लागि ठूलो लगानी गरे पनि उपभोक्ता समितिहरूको कमजोरीका कारण समयमा विजुली पुराउन नसकिएको दाबी गरे ।
विद्युत वितरण केन्द्र बैतडीमार्फत सो क्षेत्रमा बिजुली पुराउने काम भइरहेको कार्यालय प्रमुख अनिलकुमार चौधरीले बताए । उनले यो वर्ष सिगास गाउँपालिकाको वडा नम्बर १ र २ मा विद्युत पुर्याउन ३० लाख रुपैयाको टेण्डर आह्वान भइसकेको बताए
गाउँपालिका र विद्युत वितरण केन्द्र दुवैले काम गरिरहेको भए पनि तीन वर्षदेखि बिजुलीका पोल ढल्ने क्रम जारी रहेको छ ।




