नेकपा समाजवादीमा आवद्ध हुदै एमालेका स्थानीय जनप्रतिनिधिहरू

धनगढी / कैलालीका विभिन्न स्थानीय तहका जनप्रतिनिधीहरू माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीमा आवद्ध हुने क्रम जारी छ ।
निर्वाचन कार्यालय कैलालीले दल रोज्न पत्राचार गरेपछि एमालेबाट गत स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरू एसमाजवादीमा आवद्ध भएको सनाखत गराइरहेका छन् ।
शुक्रबार कैलाली जिल्ला समन्वय समितिका उपप्रमुख सुन्दरी देवी चौधरी सहित सात जनाले नेकपा एसमाजवादीमा रहेको निर्वाचन कार्यालयमा सनाखत गरेका छन् ।
यसअघि बुधबार कैलालीको मोहन्याल गाउपालिका उपाध्यक्ष पूजादेवी बुढामगर र अन्य दुई जनाले एसमाजवादी रोजेको भन्दै निर्वाचन कार्यालयमा सनाखत गरेका थिए ।
त्यस्तै, बिहीबार थप पाँच जनाले एसमाजवादीमा रहेको सनाखत गरेको निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।
जिसस कैलालीका प्रमुखबाहेक सबै समाजवादीमा लाग्ने तयारी
कैलाली जिल्ला समन्वय समितिका प्रमुख बाहेक अरु सबै पदाधिकारीहरूले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध हुने तयारी गरेका छन् ।
स्रोतका अनुसार जिल्ला समन्वय समिति प्रमुख सूर्यबहादुर थापा भने हालसम्म एमालेमै रहेका छन् ।
शुक्रबार जिसस उपप्रमुख सुन्दरी देवी चौधरी तथा जिसस सदस्यद्वय मालती विक र देवी भण्डारीले प्रदेश निर्वाचन कार्यालय पुगेर एसमाजवादी पार्टीमा सनाखत गरेका थिए ।
नेकपा एसमाजवादी पार्टीका नेता विमलप्रकाश जोशीका अनुसार कैलाली जिसस सदस्यद्वय टेकबहादुर बुढा र ललित साउँदले पनि समाजवादी पार्टी नै रोजेका छन् ।
उनले भने– आजै (शुक्रबार) निर्वाचन कार्यालयमा आएर सनाखत गर्ने कार्यक्रम थियो, तर केही कारणले आउन पाउनु भएन, अब आइतबार सनाखत गर्नुहुन्छ ।




