७ पुष २०८२, सोमबार

बाढीको प्रकोप : धान तथा उखुबाली क्षति विद्युत सेवा अवरुद्ध




धनगढी / कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ३, मोहनपुरमा बाढीका कारण करिब ६५ बिघामा लगाइएको धानबालीमा क्षती पुगेको छ ।

बाढीले तीन बिघा जमिनमा लगाइएको उखुबाली पनि नोक्सान गरेको छ । बाढीले विद्युतको पोल ढालेका कारण मोहनपुरमा विद्युत सेवा अवस्द्ध भएको छ ।

पछिल्लो पटक परेको अविरल वर्षासंगै मोहना नदीमा आएको बाढीले कैलारी गाउँपालिकाको सहयोगमा निर्माण गरिएको तटबन्ध र तटबन्धको संरक्षणका लागि नेपाल रेडक्रस र मर्सिकोरको साझेदारीमा बनाइएको जैविक तटबन्ध बगाएको छ ।

सुन्दर सामुदायिक बनका सचिव रामसमझ चौधरीले बाढीले तीन बिघा जमिनमा लगाइएको उखुबाली पनि बगाएको जानकारी दिए ।

मोहना नदीको बाढीका कारण मोहनपुरका अधिकांस किसानको धानबाली क्षति भएको स्थानीयले बताए । मोहनपुर गाउका भल्मन्सा रामु चौधरीले भने– यस वर्ष साउन र भदौमा आएको वाढीले धानबाली निकै सखाप पारेको छ ।

मोहना नदीमा आएको बाढीका कारण विद्युतका दुई वटा पोल ढलेका छन् । विद्युत पोल ढलेका कारण मोहनपुर गाउका ९० घरधुरी भदौ ११ गतेदेखि विद्युत सेवाबाट बञ्चित भएको भलमन्सा रामुले बताए ।

विद्युत अवरुद्ध भएपछि पोल्ट्री फार्मले समस्या भोग्नु परेको छ । मोहनपुरमा रहेको आस्मा पोल्ट्रीे फार्ममा सञ्चालक वीरमल चौधरीले विद्युत सेवा अवरुद्ध भएपछि कुखुराका चल्लाहरूका लागि उज्यालो बनाउन पम्पिङ इन्जिन चलाउनु परिरहेको बताए ।

हसुलियाका विद्युत प्राविधिक केदार चौरीले स्थानीयको सहयोगबाट तीनचारदिन भित्रै विद्युत सेवा पुनःसञ्चालन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार