जताततै डुबानकै समस्या

धनगढी / सामान्य बर्षा हुँदा पनि धनगढीका विभिन्न वडाहरू जलमग्न हुने गरेका छन् । दिनप्रति दिन खोलानालाहरू अतिक्रमण हुन थालेपछि सामान्य झरी हुदा पनि धनगढी उपमहानगरपालिकाका शिवनगर, हसनपुर, विशालनगर, मिलन चोक र पार्क मोड लगायतका क्षेत्रहरू जलमग्न हुने गरेका छन् ।
केही घन्टा अविरल वर्षा हुदा धनगढीमा मुख्य सडकहरू खोलानालामा परिणत हुने गरेका छन् । सडकमा पानी बग्न थालेपछि सर्वसाधारणहरूलाई आवतजावत गर्न समेत समस्या हुने गरेको छ ।पछिल्लो पटक सोमबार रातिदेखि परेको वर्षाले वडा नम्बर १ शिवनगर लगायतका क्षेत्र जलमग्न भएका छन् ।
पानी निकास नहुँदा सडकमै पानी बग्न थालेपछि हिडडुल गर्न समस्या भएको सर्वसाधारणहरूले बताएका छन् । खोला अतिक्रमण र ढल निकासको उचित व्यवस्था नहुँदा यस क्षेत्रका बासिन्दाले बेलाबेलामा डुवानको समस्या झेल्दैं आएका छन् ।
स्थानीय सरकारले उचित ढल निकास लगायतका बिषयमा ध्यान नदिदा बर्षेनी आफूहरू डुवानको चपेटामा पर्दै आएको उनीहरूको आरोप छ ।
सोमबार रातिको अविरल वर्षाका कारण कैलालीका टीकापुरमा रहेको नमूना इन्टरप्राइजेज डुवानमा परेको छ । वर्षाका कारण अन्य एक दर्जन पसल डुवानमा पर्दा लाखौंका सामानमा क्षति पुगेको स्थानीयले बताएका छन् ।
गत वर्षका डुवानमा व्यापारीको क्षति भएको स्मरण गर्दै व्यापारी सरोज चपाईले ढल निकासको समस्याका कारण डुवान भएको आरोप लगाए ।
स्थानीय सरकार मौन छ । निर्माण कम्पनीले कछुवा गतिमा काम गरिरहेको छ । व्यापारी बर्सेनि डुवानको समस्यामा छन्् उनले भने, ‘ढल निकासको उचित व्यवस्थापन नभएकै कारण हामीले समस्या भोग्नुपरेको छ ।
बजारको मुख्य भागमा निर्माण सुरुआत भएको सडकको काम समयमै सम्पन्न नहुँदा बजार क्षेत्र डुवानमापर्ने खतरा बढेको छ । एक दिनको वर्षाले मात्रै टीकापुरका दर्जनौं पसल डुवानमा परेका छन् । अहिले निर्माण हुन लागेको सडक घरको सतहभन्दा अग्लो भएका कारणले पनि सामान्य वर्षामा पानी पसलमा पस्ने गरेको स्थानीय व्यापारी सुरेन्द्र चौधरी बताउछन् ।
नाली निर्माण भएका छन्। तिनको निकास छैन् । अहिले तिनै नालीमा पानी भरिएर पसल जलमग्न भएका छन् उनले भने, ‘पूर्व तयारी कसैले गर्दैनन् । जब समस्या आउ“छ त्यसपछि मात्रै एक अर्कालाई दोष दिएर समस्याको समाधान हुदैन ।
बजारको मुख्य भाग ब्लक नम्बर एमा स्मार्ट सिटी अन्तर्गत सडकको काम सुरु भएको दुई वर्ष भइसकेको छ । सडक निर्माणको जिम्मा पाएको महालक्ष्मी एमके जेभीले पहिलो चरणको सम्झौताको म्याद सकिए पनि अझै आधा काम सम्पन्न गर्न सकेको छैन् ।
निर्माण कम्पनीका निर्देशक चक्रबहादुर शाहीले काम गर्दै जाँदा आयोजनाको डिजाइन परिवर्तन गर्नुपरेकोले काममा ढिलाइ भएको बताए । उनले आयोजनाको डिजाइन सच्याउन समय लागेको र कोरोनाका कारण पनि काम प्रभावित भएका कारण समयमै सम्पन्न गर्न नसकिएको बताए ।
बजारको मुख्य बजारसंगै जोडिएको जमरा पुलदेखि बसपार्कसम्मको सडकको पनि पहिलो चरणको सम्झौता गत फागुनमै सम्पन्न भइसकेको छ । विद्युत् पोलको समस्या देखाउदै आएको निर्माण कम्पनीले ढल निकासका लागि निर्माण गरेको नालाको निकास खोलेको छैन । नालाको निकास नभएका कारण डुवानको जोखिम बढेको स्थानीय व्यापारी हेमन्त रावल बताउछन्।
सडक निर्माणको जिम्मा पाएको रेखा निर्माण सेवाले अहिले सडककोबीच भागमा गिट्टी थुपारेका कारण सवारी आवागमनमा पनि निकै समस्या हुने गरेको छ ।
निर्माण सेवाका इन्जिनीयर गगन शाहीले विद्युत् पोलको व्यवस्थापन हुन नसक्दा काम गर्न निकै कठिनाइ हुँदै आएको जनाउदै बिचको भाग भए पनि कालोपत्र गर्ने भनेर सडकमा गिट्टी थुपार्ने काम भएको बताए ।




