२ माघ २०८१, बुधबार

राहत शिक्षकका मागमा ऐक्यवद्धता



धनगढी/नेपाल राहत शिक्षक समितिको मागलाई कार्यान्वयन गराउन शिक्षकका पेशागत संघ/संगठनले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
नेपाल राहत शिक्षक समिति कैलालीको आयोजनामा शनिबार भएको ‘राहत शिक्षकको स्थायी व्यवस्थापन तथा पेशागत सुनिश्चितताका लागि बृहत अन्र्तक्रिया कार्यक्रम’ मा पेशागत शिक्षक संगठनका प्रतिनिधिहरूले राहत शिक्षकका मागप्रति ऐक्यवद्धता जनाए ।
कार्यक्रममा नेपाल शिक्षक महासंघ कैलालीका अध्यक्ष भीमबहादुर बलायरले राहत शिक्षकमात्र नभई समग्र सत्र थरी शिक्षकको समस्या समाधान गर्ने गरि सरकारले शिक्षा ऐन ल्याउन माग गरे ।
उनले निजामति, करार, राहत, बालविकास केन्द्र लगायत विभिन्न नाममा रहेका शिक्षकहरूको आ–आफनै समस्या रहेको बताए । उनले शिक्षकहरूको समस्या समाधान गराउन राज्यलाई दबाब दिन आवश्यक रहेको बताए ।
नेपाल राहत शिक्षक समितिकी केन्द्रीय उपाध्यक्ष शारदा तिमिल्सेनाले सरकारले सम्झौता गने, तर नीति तथा ऐनमा ती कुरालाई उल्लेख नगर्ने बताइन् । उनले भनिन्– सरकारले राहत शिक्षकको समस्या समाधानका लागि गरेको सम्झौतालाई शिक्षा ऐनमा समेट्नुपर्छ ।
उनले राहत शिक्षकसंग दुई पटक र नेपाल शिक्षक महासंघसंग एक पटक गरि सरकारले तीन पटक सम्झौता गरेको भए पनि कार्यान्वयनमा चासो नदिएको गुनासो गरिन् । उनले राहत शिक्षकसंग भएका सम्झौता शिक्षा ऐनमा उल्लेख गराउन कडा आन्दोलनका कार्यक्रम अघि बढाइने बताइन् ।
अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष रामप्रसाद तिमिल्सेनाले शिक्षकको समस्या समाधान गर्नमा सरकार गम्भिर नरहेको गुनासो गरे ।
ण्किकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष धनबहादुर सिंहले शिक्षक संगठनहरूले सम्झौता गर्ने प्रवृतिका कारण सरकार गम्भिर हुन नसकेको आरोप लगाए । उनले भने –‘जब–जव शिक्षकको आन्दोलन चरम उत्कर्षमा पुगेको हुन्छ । त्यही बेला शिक्षकका संगठनहरूले सरकारसंग सम्झौता गरेर आन्दोलनलाई तुहाउँछन् । यसले गर्दा सरकार सम्झौता कार्यान्वयन गर्दैन् ।
नेपाल राहत शिक्षक समिति कैलालीका अध्यक्ष सागर जोशीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक संगठनका पदाधिकारी, राहत शिक्षकको सहभागिता रहेको थियो । राहत शिक्षक समिति सदस्य विनु चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन कर्ण साउदले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार