निर्मला हत्याकाण्ड : दिलिपलाई पक्राउ गर्ने तयारी
धनगढी । कञ्चनपुरकी १४ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पुनः दिलिपसिंह बिष्टलाई पक्राउ गर्ने तयारी गरेको छ ।

प्रहरी स्रोतका अनुसार निर्मला हत्याको अभियोगमा दिलिपलाई पक्राउ गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ । प्रहरीले सो घटनाको अनुसन्धानका क्रममा भेटिएका विभिन्न प्रमाणले दिलिप नै शंकास्पद देखिएको भन्दै पुनः पक्राउ गर्ने तयारी गरेको बताइन्छ ।
प्रहरीले निर्मलाकी आमा दुर्गादेवी पन्तको किटानी जाहेरी, स्थानीयको बयान, मिडियामा आएका समाचार, विज्ञको सुझाव, दिलिपको सुक्ष्म निगरानी लगायतलाई प्रमाणको रुपमा लिएको स्रोतले जनाएको छ ।
२०७५ साल साउन १० गते सा“झ वेपत्ता भएकी निर्मलाको शव ११ गते भिमदत्त नगरपालिका वडा नम्बर १८, निम्बुवाखेडा स्थित उखुवारीमा फेला परेको थियो । सो घटनाको अभियोगमा प्रहरीले २०७५ भदौ ४ गते दिलिपलाई पक्राउ गरे पनि डिएनए नमिलेपछि सामान्य तारेखमा छोडेको थियो ।
त्यसपछि प्रहरीले विभिन्न संकास्पद व्यक्तिहरूलाई पक्राउ गरे पनि पर्याप्त प्रमाण नपुगेपछि रिहा गरेको थियो ।
घटनाको प्रमाण नष्ट गरेको र अनुसन्धानमा लापरबाही गरेको अभियोगमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख (एसपी) डिल्लीराज बिष्ट, केन्द्रीय अनु्सन्धान ब्युुरोका डिएसपी अंगुर जिसी सहितका प्रहरी अधिकृतहरू बर्खास्त गरिएका छन् ।
घटनाको १६ महिनापछि प्रहरीले पुनः दिलिप नै दोषी हुन सक्ने निक्र्यौलमा पुग्दै पक्राउ गर्ने तयारी गरेको छ । स्रोतले १७ जना स्थानीयले घटनाको समयमा दिलिपलाई घटनास्थलमा देखेको बयान दिएको बताएको छ ।
यसैबीच, दिलिपका दाई खडकले भाईको मानसिक अवस्था बिग्रिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा पत्र पठाएका छन् ।
खडकले आयोगमा पठाएको पत्रमा “भाई दिलिपमाथि सम्भावित मानव अधिकार हनन् रोकी पाउ” भन्ने उल्लेख गरेको बताइएको छ ।
विभिन्न भिडियो र गत बर्ष नै प्रहरीलाई दिलिपले दिएको बयानका आधारमा निर्मलाकी आमा दुर्गाले गत २२ भदौमा प्रहरीमा दिलिपका नाममा किटानी जाहेरी दिएकी छिन् ।




