अनुदानमा ढुवानी गरी बाजुराको स्याउ बजारमा
धनगढी । बाजुराको दुर्गम क्षेत्रमा उत्पादन भएको स्याउ अनुदानमा ढुवानी गरी धनगढीमा ल्याएको छ ।
कृषि ज्ञान केन्द्र बाजुराले छ सय क्वीन्टल स्याउ ढुवानी गर्न प्रतिकिलो १८ रुपैयाँ अनुदान दिएर बाजुराको स्याउ बजारमा पठाएको छ । पहिलो लटमा ६० क्वीन्टल स्याउ बाजुराको जुकोटबाट धनगढी ल्याएको कार्तिकस्वामी बहुउद्देश्यीय सहकारी संस्थाले बुधबार धनगढीमा २२ किलोको प्रति कार्टुन दुई हजारमा विक्री गरेको छ ।
सहकारीका अध्यक्ष मेघराज शाहीले ढुवानी अनुदानमा बाजुराको स्याउ काठमाडौं समेत लगिरहेको बताए । उनले पहिलो लटमा एक सय २५ स्याउ काठमाडौं पठाइरहेको बताए । बाजुराको स्याउ धनगढी पुगेपछि सस्तो दरमा विक्री गर्दा धनगढीका उपभोक्ताहरुले रुचिका साथ खरिद गरेका छन् । अहिले धनगढीमा कास्मिरी स्याउको नाममा भारतीय स्वाउ दुई सय रुपैयाँ प्रति किलोमा विक्री हुँदै आएको छ ।
विगतमा बजार नपाएको बाजुराको स्याउ बारीमै कुहिने गरेको थियो । जुकोटदेखि पीलुचौरसम्म खच्चडमा ढुवानी गरी ट्रकमा राखेर धनगढी ल्याइएको अध्यक्ष शाहीले बताए । उनले सुदूरपश्चिम प्रदेशकै बाटोबाट ल्याउन खच्चर भाडा महंगो पर्ने भएकाले कालिकोट, सुर्खेत हुँदै धनगढी ल्याएको बताए ।
बाजुराको स्वामीकार्तिक गाउँपालिकाको जुकोट र साप्पाटामा वर्षेनी ठूलो परिणाममा स्याउ फलेपनि बाटो नहुँदा बजार पाएको थिएन । यो वर्ष बारीमै पुगेर कृषि ज्ञान केन्द्रको प्राविधिक टोलीले स्याउको ग्रेडिङ गरेर ढुवानी व्यवस्था मिलाएपछि किसानहरु पनि खुसी भएका छन् । स्वाउ बोकेको ट्रकमा बसेर स्याउ बेच्न धनगढी पुगेकी जुकोटकी नन्दा शाहीले सरकारले ढुवानी व्यवस्था मिलाएकोमा किसानहरु निकै खुशी भएको बताइन् । सहकारीको सदस्य रहेकी उनले किसानलाई प्रति किलोको ३० रुपैयाँ दिएर सहकारीले स्याउ खरिद गरेको बताइन् ।
कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोविन्द सिजापतिले बाजुराको जुकोट र साप्पाटाका किसानले दुई सय ३० हेक्टरमा स्याउ लगाएर एक हजार ५० टन स्याउ उत्पादन गरेको बताए । यसैवर्ष बाजुराको स्याउ बारीबाटै एक रुपैयाँमा तीन दाना स्याउ विक्री गरिएको थियो ।