२२ बैशाख २०८१, शनिबार

नदीजन्य सामग्री उत्खनन्मा रोकको निर्णय : अधिकांस स्थानीय तहले टेरेनन्



धनगढी । शनिबार दिउँसो ११ बजे । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ८, लठुवाको डोडा नदी । डोजरले ढुंगा र बालुवा उत्खनन् गरिरहेको थियो । ट्याक्टर धमाधम बालुवा भर्ने काम भइरहेको थियो ।
यस्तै, दृश्य घोडाघोडी नगरपालिका वडा नम्बर ९ को कान्द्रा नदी र वडा नम्बर ४ को टेंग्ना नदीमा पनि थियो ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २, महरा टोलदेखि चिहानसम्मको गोदावरी नदीमा पनि डोजरले ढुंगा, बालुवा उत्खनन् गरिरहेको थियो भने टिप्पर तथा ट्याक्टरहरूमा लोड भइरहेको थियो । ढुंगा, गिट्टी, बालुवा संकलन, उत्खनन् तथा घाटगद्दी जिल्ला अनुगमन तथा समन्वय समिति, कैलालीले नदीजन्य पदार्थ उत्खनन्सम्बन्धी पूर्ण विवरण नपठाएका स्थानीय तहहरूमा नदीजन्य सामग्री उत्खनन् गर्न शुक्रबारदेखि रोक लगाउन निर्देशन दिएको थियो । तर, कैलालीका अधिकांस स्थानीय तहमा शुक्रबार र शनिबार पनि नदीजन्य सामग्री उत्खनन् जारी रहेको स्थानीयले बताए । कैलालीको गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिका र लम्कीचुहा नगरपालिका तथा मोहन्याल गाउ“पालिका सहितका स्थानीय तहमा रहेका नदी तथा खोलामा नदीजन्य पदार्थ उत्खनन् जारी रहेको थियो ।
स्थानीय तहहरूले नदीजन्य उत्खनन्को पूर्ण विवरण नबुझाउने र उत्खनन् पनि नरोकेकोले ढुंगा, गिट्टी, बालुवा संकलन, उत्खनन् तथा घाटगद्दी जिल्ला अनुगमन तथा समन्वय समितिको गत सोमबार बसेको बैठकले विवरण नबुझाउने स्थानीय तहलाई उत्खनन् र निकासीमा रोक लगाउने निर्णय गरको थियो । अनुगमन तथा समन्वय समितिले सो सम्बन्धमा कैलाली जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल हेडक्वार्टर कैलाली ३४ नम्बर गण र डिभिजन वन कार्यालयलाई अनुरोध गर्ने निर्णय सहित गत बिहीबार पत्राचार गरेको थियो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले‘‘जिल्ला समन्वय समितिबाट विवरण नबुझाउने स्थानीय तहमा रहेका नदी र खोलामा नदीजन्य पदार्थ उत्खनन्मा रोक लगाउन भनेर पत्र आएको’ बताए ।
कैलाली प्रहरी प्रमुख आभूषण तिमिल्सेनाले जिल्लाको खुटिया बाहेक अन्य नदीमा उत्खनन्मा रोक लगाएको बताए । उनले अहिलेसम्म कुनै नदीबाट डोजर, ट्याक्टर तथा टिप्पर भने नियन्त्रणमा नलिइएको बताए ।
जिल्ला समन्वय समिति, कैलालीका प्रमुख सूर्यबहादुर थापाले सुरक्षा निकायका प्रमुखहरूलाई उत्खनन्मा रोक लगाउन र नरोकेका ठाउँमा कारबाही गर्न भनेर आग्रह गरिएको बताए । उनले अहिलेसम्म कुनै पनि स्थानीय तहमा उत्खनन् सम्बन्धी कारबाही गरिएकोबारे आफूहरूले जानकारी नपाएको बताए । जिल्ला समन्वय समिति प्रमुख थापाले आज (सोमबार) देखि कैलालीका नदी तथा खोलामा नदीजन्य सामग्री उत्खनन्को अवस्थाबारे स्थलगत अनुगमन गरिने र गल्ती भएको पाइएमा कारबाही प्रक्रिया अघि बढाउने बताए ।
कैलालीका १३ वटा स्थानीय तहमध्ये धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका र जानकी गाउ“पालिकाले मात्र नदीजन्य उत्खनन् सम्बन्धी चार किल्लासहितको विवरण उपलब्ध गराएका छन् । जिल्ला समन्वय समितिले तेस्रो पटकसम्म सूचना जारी गर्दा पनि तीन स्थानीय तहबाहेक अन्यले नदीजन्य सामग्री उत्खनन्ुबारेको विवरण नबुझाएको जिल्ला समन्वय समिति, कैलालीले जनाएको छ ।
“स्थानीय तहहरूले जिल्ला समन्वय समितिले माग गरेको विवरण बुझाउन कुनै चासो दिएका छ्रैनन् । बरु जथाभावी ढंगले खोला र नदीबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन् कार्य जारी राखेका छन्” जिल्ला समन्वय समिति, कैलालीका प्रमुख थापाले भने ।
जानकी गाउँपालिकाले चार किल्ला प्रमाणित नगरी विवरण बुझाएको छ । धनगढी उपमहानगरपालिकाले तेस्रो पटक सूचना जारी भएपछि गत सोमबार मात्रै विवरण बुझाएको थियो ।
स्थानीय तहहरूले विवरण नबुझाएपछि ढुंगा, गिट्टी, बालुवा उत्खनन्को अनुगमन गर्ने जिम्मेवारी पाएको जिल्ला समन्वय समितिलाई अनुगमन गर्न कठिनाई भएको जिल्ला समन्वय समिति अधिकारी योगेन्द्र ओझाले बताए ।
जानकी गाउँपालिकाले विभिन्न वडामा पर्ने कर्णाली नदीबाट एक लाख ३४ हजार एक सय ९० घनमिटर ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्न लम्कीचुहा नगरपालिका वडा नम्बर २ को रेखा निर्माण सेवालाई एक करोड रुपैया“मा ठेक्का दिएको विवरण पेस गरेको छ ।
त्यसैगरी, गौरीगंगा नगरपालिकाले गौरीगंगा, शिवगंगा, चौमाला र कनरी नदीबाट एक लाख ५९ हजार आठ सय ५१ घनमिटर ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्न धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को दाहाल मल्टी ट्रेड प्रालिलाई ठेक्का दिएको विवरण बुझाएको छ ।

नियम विपरित कर
कैलालीको घोडाघोडी नगरपालिकामा ढुंगा, बालुवा, गिट्टी, माटो, ग्राभेलमा नियम विपरित कर लिने गरिएको छ । घोडाघोडी नगरपालिकाभित्र ढुंगा, बालुवा, गिट्टी, ग्राभेल तथा माटो निकासीमा कर असुल गर्ने ठेक्का पाएको एमके बिल्डर्स एण्ड कन्स्ट्रक्सन कम्पनी, धनगढीले नगरपालिकास“ग गरेको सम्झौता भन्दा निकै बढी रकम असुल गरिरहेको पाइएको छ ।
ढुंगा, गिट्टी, बालुवा, ग्राभेल निकासीमा प्रति घनमिटर मूल्य अभिबृद्धि करसहित ८४ रुपैया“ ७५ पैसा रकम लिनुपर्नेमा बढी रकम असुल गरिरहेको पाइएको छ । सामान्यतयाः ट्याक्टर ट्रालीमा चार घनमिटर बालुवा, गिट्टी, ढुंगा वा ग्राभेल ढुवानी हुने गर्दछ । नगरपालिकासँग गरिएको सम्झौता अनुसार प्रति ट्याक्टर ट्राली तीन सय ३९ रुपैयाँ रकम लिनु पर्नेमा ठेकेदारले चार सय २५ रुपैयाँ लिने गरेको छ । ट्याक्टर धनी किरण चौधरीले ठेकेदारले आफूहरूसँग पाँच घनमिटरको रकम लिने गरेको गुनासो गरे । उनले ट्याक्टर ट्रालीमा बढीमा चार घनमिटर मात्र क्षमता रहेको बताए ।
ठेकेदार जनक शाहले पाँच घनमिटरलाई आधार मानेर रसीद काट्ने गरेको बताए । उनले सधैं सबै ट्रालीको नापजोख सम्भव नहुने भएकाले पाँच घनमिटर मानेर रकम लिइरहेको बताए ।
घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीले ट्याक्टर व्यावसायीहरूबाट गुनासो आएपछि ठेकेदारसँग छलफल गरिएको बताए । नगर प्रमुख चौधरीले ठेकेदारले सम्झौता अनुसार काम नगरे कारबाही गरिने बताए ।
घोडाघोडी नगरपालिकाले एमके बिल्डर्स एण्ड कन्स्ट्रक्सन कम्पनीसँग गत असोज ९ गते नौ महिनाका लागि बालुवा, ढुंगा, माटो, गिट्टी तथा ग्राभेल निकासीमा कर संकलन गर्न एक करोड ३४ लाख ९० हजार पाँच सय रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार