१८ बैशाख २०८१, मंगलवार

प्रदेश सभा र सरकारको काम तीब्र गतिमा : मुख्यमन्त्री (भिडियोसहित)



धनगढी । सुदूरपश्चिम प्रदेशको संसद सचिवालयले आइतबार धनगढीमा प्रदेश सभा स्थापना दिवस मनाएको छ ।मुख्यमन्त्री, सभामुख, प्रदेश सरकारका मन्त्रीहरू, उपसभामुख, प्रदेश सांसद, संसद सचिवालयका कर्मचारीहरू लगायतको उपस्थितिमा प्रदेश सभाले चियापान कार्यक्रम आयोजना गरेको हो । सुदूरपश्चिम प्रदेशका सांसदहरूले सपथ ग्रहण गरेको एक वर्ष पुगेको अवसरमा प्रदेश सभा परिसरमा आयोजित कार्यक्रममा सहभागीहरूले शुभकामना आदानप्रदान गर्नुका साथै वर्षभरि प्रदेश सभा र सरकारले गरेको कामको पनि समीक्षा गरेका थिए । प्रदेश सांसदहरूले २०७४ माघ ७ गतेका दिन सपथ ग्रहण गरेका थिए ।
मुख्यमन्त्री त्रिलोचन भट्टले आधारभूति संरचनाहरू तयार भएपछि प्रदेश सभा र सरकारको कामले तीब्रता पाएको बताए । उनले देशका सातवटा प्रदेशमध्ये सुदूरपश्चिम प्रदेश एक नम्बरमा रहनुपर्छ भन्ने मान्यता सहित काम गरिरहेको बताए । उनले अरू प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशमा काम भएको छैन भन्ने कुरा लगत रहेको दावी गरे ।
उनले पहिलो आर्थिक वर्षमा प्रदेश सरकारले बजेट कार्यान्वयन गर्ने निकाय नै नरहेकाले पहिलो वर्षको बजेट कार्यान्वयन गर्न नसकेको स्वीकार गरे । उनले यस वर्ष पछिल्लो चरणमा आएर प्रदेश मातहतका कार्यालयहरू स्थापना भएको केही कर्मचारी पनि आइसकेकाले बजेट कार्यान्वयनको चरण शुरु भएको जानकारी दिए ।

कानून, भौतिक संरचना, सिकाई, अनुभव, सिस्टमको अभावका बाबजुट गर्दै सिक्दै एक वर्ष बितेको मुख्यमन्त्री भट्टले बताए । उनले एक वर्षको अवधिको सिकाई र अनुभवले प्रदेश सभा र सरकारले काम गर्ने आधारहरू तयार भएको बताए । उनले जनताको अपेक्षा बढेको र प्रदेश सरकारले काम गर्ने आधार तयार नभएकाले एक वर्षको अवधिमा जनअपेक्षा अनुरूप काम गर्न नसकेको स्वीकारे । उनले भने, “अव हामी काम गर्ने आधार तयार गरेका छौं । विकास र कानून निर्माणको काम अबका दिनमा सँगसँगै तीब्र गतिमा अगाडि बढाउँछौ ।”
सभामुख अर्जुनबहादुर थापाले एक वर्षको अवधिमा प्रदेश सभा पूर्ण रूपमा सफल भएको बताए । उनले प्रदेशको संरचना मुलुकमै नयाँ भएको हुनाले सबैका काम शुन्यबाट शुरु गर्नु परेकोले स्वाभाविक रूपमा कम काम गरेको देखिन गएको बताए । उनले प्रदेश सभा शुरु गर्दा एक प्रति संविधान बाहेक प्रदेश सभामा केही नभएको बेला एक वर्षमा १९ वटा कानून बनाउन सफल भएको बताए । सभामुख थापाले पनि आधारभूत संरचनाहरू तयार भइसकेको हुनाले अवका दिनमा प्रदेश सभाले पनि गति लिने बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले बनाउन बाँकी रहेका कानून बनाउने र आर्थिक समृद्धिको कामले तीब्रता पाइसकेको बताए । उनले प्रदेश सभालाई अझै तीब्र गति दिनका प्रदेश सरकार र सबै सरोकारवालाहरूले पनि गति लिनुपर्ने बताए ।
प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलका प्रमुख सचेतक डा. रणबहादुर रावलले कमिकमजोरीलाई सच्याएर अगाडि बढ्नुपर्ने बताए । उनले कमकमजोरी इंगित गर्नेलाई नजिकको मित्र सम्झेर अगाडि बढ्नुपर्ने बताए । उनले अरू प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशले आधा काम पनि गर्न नसकेको बताए । “थेरै काम गर्न खोल्दा कम पनि भएको हुन सक्छ,” प्रमुख सचेतक रावलले भने, “हाम्रो विशिष्ट परिस्थिति कारणले पनि हुनसक्छ र हाम्रो काम गर्ने ढंग पनि पुगेको हुन सक्छ । कहाँ कमजोरी भयो भन्ने कुरा पत्ता लगाएर सच्याएर अगाडि बढ्नु पर्छ ।”उनले आशा अनुसार नभएपनि केही काम भएको बताए । उनले १२ महिनामा सरकारले पर्याप्त विजनेश दिन नसकेको गुनासो उनको थियो । उनले प्रदेश सरकारले गम्भीर भएर प्रदेश सभालाई विजनेश दिनमा लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार