पूर्व मन्त्री चौधरी व्यवसायतर्फ (भिडियोसहित)
जोशीपुर (कैलाली) । कलेजमा पढ्दापढ्दै २०४८ सालमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएर पटकपटक मन्त्री बनिसकेका रामजनम चौधरी अहिले होटल व्यवसायमा होमिएका छन् ।
प्रजातन्त्र पुनस्र्थापनापछि भएको २०४८ सालको पहिलो आम निर्वाचनमा रामजनम नेपाली काँग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर २ बाट पहिलो पटक संसद सदस्य निर्वाचित भएका थिए । २०५१ सालको मध्यावधि निर्वाचन र २०५६ सालको आम निर्वाचनमा पनि काँग्रेसबाट संसद सदस्यमा निर्वाचित उनी २०५४ सालमा सहायक मन्त्री बनेपछि पटकपटक मन्त्री बने । २०६४ सालमा मधेसी जनअधिकार फोरममा प्रवेश गरेका उनी २०६६ सालमा विजयकुमार गच्छेदार नेतृत्वमा फोरम लोकतान्त्रिक पार्टीमा महासचिव र पछि उपाध्यक्ष बने । २०७४ सालको निर्वाचन अघि फोरम लोकतान्त्रिक नेपाली काँग्रेसमा समाहित भएपछि उनी पछिल्लो निर्वाचनमा काँग्रेसकै तर्फबाट कैलाली क्षेत्र नम्बर २ उम्मेदवार बनेकोमा पराजित भएका थिए ।
अहिले रामजनम आफ्नै गाउँ जोशीपुरको झवहीमा ठूलो लगानीमा होटल व्यवसाय सञ्चालनको तरखरमा छन् ।
जोशीपुर गाउँपालिका वडा नम्बर ४, झबहीमा उनले थारू फुडल्याण्ड रिसोर्ट निर्माण गरेका छन् । पूर्वमन्त्री चौधरीका अनुसार आफ्नै साढे तीन कठ्ठा जग्गामा एक करोड ५० लाख रुपैयाँ बढीको लगानीमा रिसोर्टको निर्माण कार्य अन्तिम चरण्मा पुगेको छ ।
उनको थारू फुडल्याण्ड रिसोर्टमा पाँच कोठे आवास गृह र एक आधुनिक सभाहल छ । सँगै माछापालनका लागि ताल निर्माण भइरहेको छ । पूर्वमन्त्री चौधरीले भने– “आगामी माघ महिनाको पहिलो सातादेखि रिसोर्ट सञ्चालनमा ल्याउने तयारीमा छु ।”
उनी थारू फुडल्याण्ड रिसोर्टमार्फत ‘थारू समुदायको मौलिक आफ्नो संस्कृति संरक्षण तथा सम्वद्र्धनमा समेत टेवा पुग्ने’ विश्वास गर्छन् । भन्छन्– “यो रिसोर्टमा थारू समुदायको विशेष खानाका परिकार (गंगेटा, घोंघी, माछा, लोकल कुखुरा, ढिक्री, फुलौरी, बरिया, खरियाँ आदि) उपलब्ध हुने छ । त्यस्तै, मौलिक थारू नाच पनि प्रस्तुत गरिने छ ।”
जिल्लाको मध्यभाग तथा राजमार्ग तथा शहरभन्दा टाढा गाउँमा डेढ करोड रुपैयाँ बढीको लगानीमा आधुनिक रिसोर्ट खोल्ने आँट कसरी गर्नुभयो ? पूर्वमन्त्री रामजनमको सहज जवाफ छ– “गाउँको विकासमा पनि ध्यान दिनु पर्छ भनेर यो शुरु गरेको छु । मैले यसमार्फत आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएको छु ।”
उनको अनुभवमा अहिलेसम्म कैलालीमा यति व्यवस्थित र सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा आएको छैन । उनले रिसोर्टले शुरुमै ३० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिने बताए ।
२७ वर्षदेखि सांसद, मन्त्री, सहित राजनीतिक दलको उपल्लो तहको नेतृत्वमा रहेका नेता रामजनमले होटल व्यवसायसँगै सक्रिय राजनीतिलाई पनि निरन्तरता दिने बताए । “बिहानदेखि साँझसम्म स्थानीय जनता तथा कार्यकर्तासँग भेटघाटका साथै पार्टीका कार्यक्रममा सहभागी बन्छु” उनले भने– “रातिको समय रिसोर्टका लागि खर्च गर्छु ।”




